२ डाक्टर ८ स्वास्थ्यकर्मीसहित नेपालगन्ज-४ मा आइसोलेसन सञ्चालन

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको वडा नं ४ ले चिकित्सकसहित १० शैयाको आइसोलेसन सञ्चालनमा ल्याएको छ ।
गणेशपुरस्थित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको भवनमा सञ्चालनमा ल्याइएको अक्सिजनसहितको आइसोलेसनमा दुई जना मेडिकल अफिसर, ५ जना नर्स र हेल्थ असिस्टेन्टको प्रबन्ध गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. डा. धवलशम्शेर राणाले आइतबार उद्घाटन गरेसँगै आइसोलेशन सेन्टर सञ्चालनमा आएको हो । पछिल्लो समय बढ्दो कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि पूर्वतयारी स्वरुप वडा नं ४ का अध्यक्ष सफिक बेहनाले वडाको बजेट रकमान्तर गरी आईसोलेसन बनाएका हुन । वडाध्यक्ष बेहनाले यस्तो महामारीको समयमा नगरवासीको ज्यान जोगाउन आफू कुनै कसर बाँकी नराख्ने बताए ।


यस्तै नेपालगञ्ज उपमहानगरपालिकाले पछिल्लो समय कोरोना रोकथाम र नियन्त्रणका लागि आइसोलेसन निर्माणमा जोड दिएको छ । यसअघि ह्वाइट हाउस र रामलीला मैदानस्थित तालिम केन्द्रमा आइसोलेसन सञ्चालन गरिसकेको उपमहानगरपालिकाले तेश्रो आइसोलेसन केन्द्र बालमन्दिरको सभाहलमा निर्माण गर्ने भएको छ ।
नगर प्रमुख डा. राणाको अध्यक्षतामा कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालासँगको बैठकले बाल मन्दिरमा आइसोलेसन बनाउनका लागि प्राविधिक स्टिमेट तयार गर्ने निर्णय गरेको हो । उप-महानगरपालिकाले भेरी अस्पतालको प्रत्यक्ष निगरानी रहने गरी आइसोलेसन केन्द्र निर्माण गर्न लागेका कारण गुणस्तरीय सेवा सुविधा पाउने नगर प्रमुख राणाको दाबी छ ।