बर्दियाका ३ सहित बाँकेमा थप ७ को मृत्यु

नेपालगन्ज : बाँकेका अस्पतालमा बर्दियाका ३ सहित थप ७ जनाको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पताल नेपालगन्जमा ६ जनाको र मेडिकल कलेज कोहलपुरमा एकजनाको मृत्यु भएको हो । मृतक मध्य ३ जना बर्दियाका, दुई जना बाँकेका र कैलाली र रोल्पाका १/१ जना रहेका छन ।
बर्दियाको मधुवन नगरपालिका–९ का ७१ वर्षिय पुरुष, बढैयाताल गाउँपालिका–१ बर्दियाका ५० वर्षिय पुरुष, बढैयाताल गाउँपालिका–२ बर्दियाका ८७ वर्षिय पुरुषको हिजो राती भेरी अस्पतालमा मृत्यु भएको हो । यस्तै बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१९ का ६० वर्षिय पुरुष र कोहलपुर नगरपालिका–१५ का ६७ वर्षिय पुरुषको समेत कोरोना संक्रमणका कारण भेरी अस्पतालमा निधन भएको हो । त्यसैगरी गौरीगंगा गाउँपालिका–४ कैलालीका ५२ वर्षिय पुरुष, रुम्टिगढी–३ रोल्पाका ३५ वर्षिय पुरुषको समेत हिजोराती मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमणका कारण बाँकेमा जिल्ला बाहिरबाट उपचारका लागि आएका १ सय ८३ जना र बाँकेकै २ सय ३४ जनाले हालसम्म ज्यान गुमाईसकेका छन् ।