एमाले विवादको परिणाम : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका पोखरेल नियुक्त

नेपालगन्ज : नेकपा एमालेको आन्तरिक विवादको असर प्रदेश सरकारमा पर्न सुरु भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्बा गुरुङ एमालेमा सालिन मानिन्छन् । अल्पमतमा परेपछि उनले राजिनामा दिएका थिए । शनिबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेका थिए । गुरुङले जनता समाजवादी पार्टी (जसपा) को प्रदेश कमिटी र प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेपछि विपक्षी गठबन्धनका सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए । तर प्रदेश प्रमुखको कार्यालयले भने पोखरेलको मात्र दाबी परेकाले मुख्यमन्त्री नियुक्त गरिएको उल्लेख गरेको छ । मुख्यमन्त्रीमा नियुक्त पोखरेलले अब ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पोखरेलले कांग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधु अधिकारी, जनता समाजवादी पार्टी (जसपा) बाट हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य दीपक मनाङेलाई विना विभागीय मन्त्री बनाएका छन् । एमालेको आन्तरिक विवादको असर देशका ७ वटै प्रदेशमा परेको छ ।