नेपालगन्जमा वस्ती, वडाहुँदै नगरस्तरीय किशोरी सञ्जाल गठन गरिँदै

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले वस्ती, वडाहुँदै नगरस्तरीय किशोरी सञ्जाल गठनका लागि नीतिगत व्यवस्था गर्न लागेको छ ।
स्याक नेपाल बाँकेले गठन गरेको उज्जवल किशोरी क्लबका किशोरीसँग शुक्रबार छलफलका क्रममा उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले विभिन्न सामाजिक संंघसंस्थाहरुले गठन गरेका किशोरी क्लबलाई एकीकृृत गरी किशोरी क्लब गठन गरिने बताइन् ।
उनले बालविवाह रोकथाम, किशोरीहरुको हकहित र क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न उपमहानगरपालिकाले कार्यविधि बनाएर बाल क्लब जस्तै किशोरी क्लबबलाई क्रियाशील गर्न लागेको बताइन् । उनले भनिन्, ‘सशक्त किशोरी सञ्जाल बनाउन हामीले कानुन बनाउन लागेका छौं । विभिन्न संघसंस्थाले गठन गरेका किशोरीका संंगठनलाई एकीकृत गरी उनीहरुका क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ ।’
कार्यक्रममा महिला तथा बालबालिकाकी प्रमुख महिला विकास अधिकृत शोभा शाहले वस्ती बस्ती र वडा वडामा किशोरी सञ्जाल बनाएर नगर स्तरीय किशोरी सञ्जाल बनाएर काम गरिने बताइन् । सो अवसरमा क्लबका अध्यक्ष राधिका विक, ज्योति विक, कल्पना विक, नन्दकली रोकाय, सरिता विकलगायतले किशोरी क्लबमा आबद्ध भएपछि क्षमता अभिवृद्धि सम्बन्धी विभिन्न तालिम लिएको बताएका थिए । क्लब अध्यक्ष विकले एक वर्षकोे अवधिमा ७ वटा बालविवाह रोकेमा बताइन् । स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डे, बालविवाह रोकथाम परियोजनाकी बरिष्ठ कार्यक्रम अधिकृत विनिता आरसी, फिल्ड सुपरभाइजर अक्लिम खानले परियोजनाले किशोरी क्लबका लागि सञ्चालन गरेका गतिविधिबारे जानकारी गराएका थिए ।