३ दिनदेखि बाँकेमा कोरोना मृत्यु शून्य

नेपालगन्ज : बाँके जिल्लामा ३ दिनदेखि लगातार कोरोनाको मृत्यु शून्य भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठका अनुसार ३ असारको बिहान १० बजेयता जिल्लामा कसैको पनि निधन भएको छैन । अहिलेसम्म जिल्लामा कोरोनाबाट ३ सय १० जनाको मृत्यु भइसकेको छ । बाँकेमा अस्पतालमा उपचार गराइरहेका जिल्लाका संक्रमितको संख्या पनि घट्दो क्रममा रहेको छ । श्रेष्ठका अनुसार भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेका ६३ जनामध्ये बाँकेका १२ जना मात्र छन् । अस्पतालका १७ प्रतिशत शैयामा मात्र विरामीलाई राखिएको छ । उपचार गराइरहेका मध्ये २६ सिकिस्त र ३७ मध्यम खालका छन् । कोरोनाबाट बाहिरी जिल्लाका भने ३ सय ४९ जनाको मृत्यु भइसकेको छ ।