नेपाल पत्रकार महासंघ बाँकेद्वारा १ महिने पत्रकारिता तालिम सुरु

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाले एक महिने आधारभूत पत्रकारिता तालिम सुरु गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकासँगको सहकार्यमा सुरु गरिएको तालिमको सोमबार नगर प्रमुख डा।धवल शम्शेर राणाले शुभारम्भ गरेका हुन् । डा.राणाले पत्रकारलाई इमान्दारिताका साथ काम गर्न आग्रह गरे । नेतालाई भ्रष्ट र पत्रकारलाई व्ल्याक मेलरको रुपमा बद्नाम गराउने काम भएको छ, उनले प्रशिक्षार्थीलाई आग्रह गरे, ‘राज्यको चौथो अंग पत्रकार इमान्दार हुन जरुरी छ । तपाईहरु इमान्दार भएर काम गर्नुस् ।’ उनले आगामी दिनमा नेपालगन्जका पत्रकारलाई एड्भान्स पत्रकारिता तालिमका लागि पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारीले पत्रकारको क्षमता अभिवृद्धिका लागि आगामी आर्थिक वर्ष भरी नै विभिन्न किसिमका एड्भान्स तालिम सञ्चालन गरिने बताए । कार्यक्रममा नेपालगन्ज ४ का वडा अध्यक्ष सफिक बेहना र नेपाल पत्रकार महासंघ बाँके शाखाका उपाध्यक्ष संगीन शर्माले प्रशिक्षार्थीहरुलाई तालिममा सिकेको कुरालाई व्यवहारमा उतारेर सफल पत्रकार बन्न आग्रह गरेका थिए ।