बाँकेमा लुम्बिनी प्रदेश स्तरीय १८औं राष्ट्रिय धान दिवस मनाइयो (फोटो फिचरसहित)

बाँकेमा आयोजित लुम्बिनी प्रदेश स्तरीय १८औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव । फोटोहरु : खम्ब पुन

नेपालगन्ज : बाँकेमा १८औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।
‘धान उत्पादनमा बृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ लुम्बिनी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा बाँकेको नेपालगन्ज ३ स्थित कर्मोहनामा प्रदेश स्तरीय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको हो । कार्यक्रममा लुम्बिनी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादवले धान रोप्ने राइस प्लान्टर मेसिनबाट धान रोपेर उद्घाटन गरेका थिए । मन्त्री यादवले नेपालीहरुको मुख्य खाद्यान्न बाली धान भएकोले यो प्रदेशलाई बीउमा आत्मनिर्भर बनाउने लक्ष्य प्रदेश सरकारको रहेको बताए । प्रदेश सरकार स्थापना भएदेखि नै कृषकलाई मल, बीउ र सिँचाइँ जस्ता आवश्यक पर्ने कुराहरुमा सेवा सुविधाका साथै अनुदान उपलब्ध गराउने कुरामा प्रदेश सरकार अगाडि बढिसकेको बताउँदै मन्त्री यादवले बढी भन्दा बढी धान उत्पादन गरेर अनुदानको सदुपयोग गर्न उनले कृषकहरुलाई आग्रह गरे ।


अहिलेका नयाँ योजनाहरुलाई पकेट क्षेत्र बनाएर पुराना लोपान्मुख बीउ संरक्षण समेत प्राथमिकतामा राखिएको बताउँदै उनले कृषकले भोग्दै आएको मलको समस्या लुम्बिनी प्रदेशका कृषकले अब भोग्नु नपर्ने बताए । कार्यक्रममा लुम्बिनि प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डे, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेल, लगायत जिल्लास्थित सरोकारवाला र स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।