कोरोनाको तेश्रो लहरबाट हुने जोखिम न्यूनिकरणका लागि पूर्वतयारी गर्न उच्च अदालतको आदेश

नेपालगन्ज : उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले कोभिड–१९ संक्रमणको तेश्रो लहरको सम्भावित जोखिम र जोखिम न्यूनिकरण गर्न पूर्वतयारी गर्न आदेश दिएको छ ।
उच्च अदालतका न्यायाधीशद्धय टेकप्रसाद ढुङ्गाना र गोकर्ण डाँगीको संयुक्त इजलासले सोमबार भेरी अस्पताल समेतका नाममा अन्तरिम आदेश दिएका हुन् । जिल्लामा उपलब्ध जनस्वास्थ्यविद बाल रोग विशेषज्ञ सुरक्षा विद र सीमा व्यवस्थापनको अनुभवी विशेषज्ञ समेत रहेको एक अध्ययन समिति गठन गरी त्यसबाट प्रतिवेदन लिनु र उक्त प्रतिवेदनमा सुझाइएका विषयहरुको व्यवस्थित कार्यान्वयन गर्ने तयारी गर्नु भनी जिल्ला प्रशासन कार्यालय बाँकेमा रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई लेखी पठाउनू’ भन्ने आदेश भएको अदालतका सूचना अधिकारी बलबहादुर बिष्टले जानकारी दिए ।
कोरोनाको संक्रमण नियन्त्रण, रोकथाम र प्रभावकारी उपचारको प्रवन्ध र पर्याप्त पूर्वतयारी नगर्ने हो भने तेश्रो चरणको संक्रमणले अझ बढी जनधनको क्षति ब्यहोर्नु पर्ने र जसको परिणामस्वरुप आम नागरिकको जीवन, स्वास्थ्य लगायतका आधारभूत मानव अधिकार गम्भिर उल्लघंन हुने भन्दै बाँकेका अधिकारकर्मी र कानून ब्यवसायीले गत ८ असारमा नेपालगन्ज उच्च अदालतमा परमादेशको रिट दायर गरेका थिए ।
अन्तरिम आदेशको छलफलमा निवेदनका पक्षमा अधिवक्ताहरु सुनिलकुमार श्रेष्ठ, बसन्त गौतम, सुरेशकुमार गौतम, विकास आचार्य, प्रभाकर भट्टराई, अमृता केसी, बलबहादुर चन्द र लोकबहादुर शाह र विपक्षीहरुका तर्फबाट उपन्यायाधिवक्ता नविनकुमार भट्ट र अधिवक्ता विश्वजीत तिवारीले बहस गरेका थिए । त्यसै गरी जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला स्वास्थ्य कार्यालय बाँके र भेरी अस्पताल विकास समितिका प्रतिनिधि समेतले श्रव्यदृश्य संवादको माध्यमबाट बहस गरेका थिए ।