बाँकेका पहिलो पत्रकार स्व.गुप्तको ९५औं जन्मजयन्ती मनाइयो

बाँकेका पहिलो पत्रकार स्व.महावीरप्रसाद गुप्तको ९५औं जन्मजयन्तीको अवसरमा नेपालगन्जमा आयोजित कार्यक्रम 

नेपालगन्ज : बाँकेका पहिलो पत्रकार स्व.महावीरप्रसाद गुप्तको ९५औं जन्मजयन्ती मनाइएको छ ।
महावीरप्रसाद गुप्त हिन्दी साहित्य पुरस्कार समिति नेपालगन्जले शनिबार स्व. गुप्तको ९५औं जन्म जयन्ती मनाएको हो । सो अवसरमा स्व.गुप्तको नाममा स्थापना गरिएको हिन्दी साहित्यिक पुरस्कार कवयित्री कृष्णादेवी पाण्डेलाई प्रदान गरिएको थियो । पाण्डेलाई दुई हजार पाँच सय नगदसहित सम्मानित गरिएको हो ।
स्व.गुप्तले २००८ सालमा ‘नइ सन्देश’ नामक हस्तलिखित पत्रिका प्रकाशित गरेर जिल्लामा पत्रकारिताको जग हालेका थिए । २०११ सालमा उनले हिन्दी भाषाको ‘नयाँ सन्देश’ पाक्षिक पत्रिका प्रकाशित गरेका थिए । त्यसपछि मात्र जिल्लामा अन्य पत्रिका प्रकाशित भएका थिए ।
पुरस्कार वितरण समारोहमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव सनत रेग्मी, अवधि साहित्यकारद्वय सच्चिदानन्द चोबे र विष्णुलाल कुम्हालले स्व.गुप्तले जिल्लामा पत्रकारिता, साहित्य र समाजसेवाका क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै स्मरण गरेका थिए ।