टीकापुरका बालक हत्या अभियोगमा दिदीसहित २ बालिका पक्राउ

बालक हत्याबारे टीकापुरमा आयोजित पत्रकार सम्मेलनमा एसपी विश्वराज अधिकारी र डीएसपी प्रकाश सापकोटा । फोटो : मानबहादुर ठकुल्ला

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा मृत फेला परेका साढे तीन वर्षका बालक विवेक विष्टको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले बुधबार १४ र १५ वर्षीया बालिकालाई पक्राउ गरेको छ । १५ वर्षीया बालिका मृतक बालककी दिदी नाता पर्छिन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बिहीबार टीकापुरमा पत्रकार सम्मेलन गरी २१ असारमा नातामा दिदी पर्ने ती बालिकाले घरबाट डेढ सय मिटर पर जामुन खान भनी लगेको र त्यहाँबाट ४०० मिटर पर जमरा कुलोमा लगेर खुट्टामा लगाएका दुई वटा चाँदीका बाला खोलेर कुलोमा धकेलेको अनुसन्धानबाट देखिएको प्रहरी उपरीक्षक अधिकारीले बताए । ‘पारिवारिक रिसिवी, डाहको कारण मार्छु भन्ने मनसायले नै बाला झिकी पानीमा धकेलेको पाइयो,’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘आफू साथीको घरमा गइ किताब लिएर फर्किँदा बालक नभएको भनेर बालककी आमालाई जानकारी गराएको र त्यसपछि बालक भएकै ठाउँमा अटो रिक्सा आएको थियो भनेर सबैलाई झुक्यायो तर कुलोसम्म बालकसँगै पुगेको देख्ने प्रत्यक्षदर्शी र प्रदेश प्रहरी कार्यालयबाट परिचालित दुई वटा स्नीफङ डगको संकेतका आधारमा बालिका केन्द्रित अनुसन्धानबाट बालिकाले नै कुलोमा लगेर धकेलेको पाइयो ।’
घटनाको पहिलो दुई दिन बालक अपहरण भएको हुनसक्ने आशंकामा सीमा नाका र वरपर खोजेको प्रहरीले मंगलबार टीकापुरका अटो रिक्सा भेला गरेर बालिकाबाट सनाखत गर्ने प्रयास गरेको थियो तर बालिकाले झुक्याएको थाहा पाएपछि अनुसन्धान मोडेको प्रहरीले जमरा कुलोको मुहान थुनेर पानी घटाइ कुलोमा खोज्दा घटनास्थलदेखि पाँच किलोमिटर तल मृत अवस्थामा फेला पारेको हो । उमेर कम भएका कारण दुबै बालिकाको नाम र फोटो सार्वजनिक गरिएको छैन् । घटनाबारे चौतर्फी दवाब बढेपछि अनुसन्धान गर्न जिल्ला प्रहरी प्रमुख उपरीक्षक विश्व अधिकारी र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पुरुषत्तोम कँडेल टीकापुर पुगेका थिए ।