लुम्बिनी प्रदेशमा* पहिलो पटक बर्दियाको ठाकुरबाबामा नगरस्तरीय प्रज्ञा प्रतिष्ठान गठन गरिँदै

भुरिगाउँ (बर्दिया) : बर्दियाको ठाकुरबाबा नगरपालिकाले लुम्बिनी प्रदेशमा* पहिलो पटक नगर स्तरीय प्रज्ञा प्रतिष्ठान गठन गर्न बजेट विनियोजन गरेको छ ।
समृद्धिका लागि जनसहभागिता भन्ने मूल नाराका साथ नगरपालिकाको हालै सम्पन्न नवौं नगरसभाले प्रज्ञा प्रतिष्ठान गठनका लागि १० लाख रुपैयाँ विनियोजन गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बर्दियाका अध्यक्ष खगेन्द्र नेपालले जानकारी दिए । नेपालमा पञ्चायतकालदेखि नै संघीय राजधानीमा मात्र प्रज्ञा प्रतिष्ठान मात्र रहेको छ । अध्यक्ष नेपालले फेसबुकमा स्टाटस लेख्दै नगर प्रमुख घननारायण श्रेष्ठ र उपप्रमुख आशा कुस्मीलाई धन्यवाद दिएका छन् । ‘संघीयताको मर्म अनुसार भाषा, कला, साहित्य , गीतसंगीत, नृत्य, नाट्यकला, ललितकलालगायत सम्पूर्ण बाङ्ममयको विकास र उत्थानका लागि नगर स्तरीय प्रज्ञा प्रतिष्ठान गठन गरी काम अगाडि बढाउन बजेट विनियोजन गर्नु भएको सुन्न पाउँदा कलाकारको मन हर्षले गदगद भयो’, उनले अगाडि भनेका छन्, ‘संघीयताको मर्म अनुसार प्रज्ञा प्रतिष्ठान राजधानीबाट पालिकासम्म आइपुग्यो ।’ सच्चाइएको *