नेपालगन्ज–कोहलपुर राजमार्गमा ‘किला एम्बुस’
शंकरप्रसाद खनाल । नेपालगन्ज
दृष्टि विशेषज्ञ डा.दिपेन्द्रराज भट्टराई चढेको कार १० दिन अघि कोहलपुरबाट नेपालगन्ज नपुग्दै पञ्चर भयो । ‘नयाँ टायर थियो । कसरी कसरी हावा गयो ? अचम्म लाग्यो,’, कोहलपुर नेत्रालयमा कार्यरत डा. भट्टराईले त्यो दिनको अनुभव सुनाए, ‘क्याट आइको किला गढेको पो रहेको रहेछ ।’ राजमार्गमा रातिको समयमा गाडीको साइड लाइट जस्तै पहेंलो बत्ति बल्ने लाइटको रुपमा क्याट आइ प्रयोग हुन्छ ।
कोहलपुर नगरपालिका–१२ चप्परगौडीका किरण रैलाले त गत जेठ महिनामै २ पटक मोटरसाइकलको टायर फेरे । ‘१८ जेठमा कोरोना संक्रमितलाई भेटेर नेपालगन्जबाट घर फर्कँदै थिए । कोठारपुरमा पुगेपछि किलाले बाइक पञ्चर भयो । निषेधाज्ञाले गर्दा वर्कसपहरु सबै बन्द थिए । झन्डै छ–सात किलोमिटर बाइक डो¥याएर घर जानु प¥यो’, उनले आक्रोस पोखे, ‘त्यत्तिबेला निकै रिस उठ्यो । जेठको अन्तिम साता फेरि नेपालगन्ज जाने बेलामा पनि किलाले बाइक पञ्चर बनायो ।’ कोहलपुरमा के.एस.मसला उद्योग सञ्चालन गरेका उनी नेपालगन्ज ओहोरदोहोर गरिरहन्छन् । उनी बाटोभरी नै क्याट आइका किला नै किलाको एम्बुस रहेको टिप्पणी गर्छन् ।
कोहलपुरका निरज सिंहको मोटरसाइकलमा त एक महिना अघि गढेको किला अझै छ । ‘कोहलपुरको न्यूरोडदेखि चौराहा जाने बेलामा किला बिझेको थियो । वर्कसपवालाले किला निकाले पञ्चर हुन्छ । ननिकाले केही हुँदैन भनेपछि बाइकको टायरमा बिझेको किला झिकेको छैन’, उनले थपे, ‘केही दिन अघि अंकलको बाइक पिपरी चोकमा क्याट आइको किलाले पञ्चर भयो । झन्डै २ किलोमिटर बाइक डो-याएर घर आउनु भयो ।’
क्याट आइको किलो बिझेर डा.भट्टराई, रैला र सिंहले जस्तै चितवनका शैलेन्द्र सुवेदीले पनि सास्ती भोगे । इनर्जेटिक ग्रुप अफ कम्पनीजको कामले बिहीबार बिहान ९ बजेतिर नेपालगन्जबाट कोहलपुर फर्कने क्रममा राँझा विमानस्थलभन्दा केही अगाडि पुग्दा सुवेदीको बाइकमा किला गढ्यो । जुन टायरमै अड्केको थियो । ‘वर्कसप खोज्दै र पञ्चर टाल्दै अनावश्यक २ घण्टा त्यत्तिकै खेर गयो’, भन्छन्, ‘यो सडकमा गाडी स्पिडमा हुन्छन् । स्पिडमा भएको बाइकमा अगाडिको चक्कामा गढ्ने हो भने दुर्घटना हुने र ज्यान जाने खतरा पनि हुन्छ ।’
शुक्रबार बिहान रत्नराजमार्गमा पर्ने जानकी गाउँपालिका–६ गनापुर क्षेत्रसम्म पुग्दा दर्जनौं ठाउँमा क्याट आइका किलाहरु फेला परेका थिए । मेरो खुसी टिमले बाँकेका चर्चित फेसबुक ग्रुप नेपालगन्ज ग्यालरी , कोहलपुर ग्यालरी, दर्शन नेपाल र बाँसगढी ग्यालरीलगायतमा ‘नेपालगन्ज–कोहलपुर–नेपालगन्ज रूटमा यात्रा गर्दा सडकको बीचमा भएको ‘क्याट आइ’को किलाले मोटरसाइकल, स्कुटर, अटो वा गाडीको टायर फुटेको वा भएको दुर्घटना’ बारे जानकारी माग्दा दर्जनौं व्यक्तिले आफू पीडित भएको प्रतिक्रिया दिएका थिए । दुई–दुई पटक बाइककोे टायर फेरेको बताउने धेरै थिए ।
पश्चिमको ठूलो भन्सार कार्यालय नेपालगन्जमैै छ । साबिक मध्य र सुदूरपश्चिमका २४ जिल्लामा व्यापारिक गन्तव्य रहेको व्यस्त रत्नराजमार्गमा दैनिक हजारौं साना र ठूला गाडी गुड्छन् । यसरी गुड्ने गाडीहरु किलाको एम्बुसमा पर्ने खतरा छ । राँझा–कोहलपुर ११.५ किलोमिटर क्षेत्रमा सयौंको ठाउँमा यस्तो किला रहेको सडक डिभिजन कार्यालयले स्वीकार गरेको छ । भैरव नारायणम् जेभीले एक वर्ष अघि रत्नराजमार्गको राँझादेखि कोहलपुर सडक क्षेत्रमा क्याट आइ राख्न ७ करोड २६ लाख रुपैयाँको ठेक्का पाएको थियो । ५ हजार ६ सय वटा क्याट आइ लगाउनुपर्नेमा ४ हजार २ सय वटा जडान ग¥यो । कम्तीमा ६ मिटरदेखि बढीमा १२ मिटरको दुरीमा क्याट आइ जडान गरिएको थियो । ‘कमसल खालको क्याट आइ भएकाले दुई तीन दिन पनि टिकेन । हामीले त्यसको भुक्तानी नै गरेनौं’, सडक डिभिजन नेपालगन्जका प्रमुख होमबहादुर एसीले प्रष्ट पारे, ‘किला ठोकेर राख्ने खालको रहेछ । क्याट आइ फुट्यो । किला मात्र बाँकी रहेको भनेर थाहा पाएपछि हामीले चप्काउनु पर्ने खालको राख्न भनेका छौं ।’ प्रमुख एसीले अबको दुई तीनभित्र किला हटाउन निर्देशन दिइसकेको बताए । ठेकेदार कम्पनीले एक हजार पाँच सय वटा क्याट आइ परिवर्तन गरिसकेको छ । कार्यालयका इन्जिनियर लक्ष्मण केसीले भने, ‘एक वर्षको ठेक्काको अवधि सकिएको छैन । अर्को १२ महिनासम्म ठेकेदारले नै मर्मत सम्भार गर्ने सम्झौता छ । जहाँ समस्या हुन्छ । त्यहाँ नयाँ फेर्दै जानेछ ।’ क्याट आइको किलाबाट पटक पटक गाडीका टायर र ट्युब फेरेका पीडितहरुले प्रश्न गरेका छन्, ‘सडक विभागको लापरबाहीबाट भएको हाम्रो क्षतिको क्षतिपूर्ति कसले गर्छ ?’