नेपालगन्जको न्यूरोडमा आदिकवि भानुभक्तको शालिक निर्माण गरिँदै

नेपालगन्ज : भानु जयन्तीको अवसरमा मंगलबार नेपालगन्जमा बृहत् रचना बाचन कार्यक्रम आयोजना गरिएको छ।
भेरी साहित्य समाज केन्द्रीय समिति नेपाल बाँके र भानुभक्त चोक संरक्षण तथा व्यवस्थापन समितिको संयुक्त आयोजनामा नेपालगन्जको न्युरोडस्थित भानुभक्त चोकमा आयोजित कार्यक्रममा बोधराज प्याकुरेल, महेन्द्र सेढाई, कल्पना पौडेल, इन्दिरा गौतम, गणेशा कार्की, जीवराज बमलगायत आधा दर्जन भन्दा बढी स्रष्टाहरुले आफ्नो सृजनामार्फत आदिकवि भानुभक्त आचार्यको स्मरण गरेका थिए। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हरि प्रसाद तिमिल्सिना, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका सहायक क्याम्पस प्रमुख डा. इन्द्रबहादुर भन्डारी र साहित्यकार बालकृष्ण शर्माले आदिकवि भानुभक्त आचार्यको जीवनी व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए ।
भानुभक्त चोक संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र भेरी साहित्य समाज केन्द्रीय समितिका सल्लाहकार सनत रेग्मी ज्यूको मुख्य आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रमका विशिष्ट अतिथि तथा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल शमशेर, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का वडा सदस्य ध्रुव दाहाल एवं लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीका अध्यक्ष शिव दाहालले नेपालगञ्जस्थित भानुभक्त चोकमा आदिकवि भानुभक्त आचार्यको शालिक निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए ।