नेपालगन्ज भन्सारको लक्ष्यमा भारी बृद्धि, चालु आवमा २५ अर्ब असुली गर्नुपर्ने

नेपालगन्ज : भन्सार विभागले नेपालगन्ज भन्सार कार्यालयको चालु आर्थिक वर्षको वार्षिक लक्ष्यमा भारी रुपमा बृद्धि गरेको छ ।
नेपालगन्ज भन्सार कार्यालय प्रमुख जयबहादुर भण्डारीका अनुसार कार्यालयले गत आर्थिक वर्षमा उल्लेख्य रुपमा राजश्व संकलन गरेपछि यस वर्ष १० अर्ब रुपैयाँ राजश्व असुली लक्ष्य बढाएर २५ अर्ब पु-याएको हो । कार्यालयलाई विभागले दिएको नयाँ लक्ष्य १७ अर्ब ७८ करोड २२ लाख रहेकोमा गत आवमा २१ अर्ब २२ करोड ४७ लाख अर्थात ११९.३६ प्रतिशत असुली गरेको हो । यो अघिल्लो आर्थिक वर्ष भन्दा ९ अर्ब ४५ करोड ४७ लाखले बढी हो ।
गत आर्थिक वर्षमा १५ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा विभागले गत फागुनमा लक्ष्य संशोधन गरी बृद्धि गरेको थियो । भन्सार प्रमुख भण्डारी राजश्व असुलीमा निकै चुनौती रहे पनि लक्ष्य अनुसार असुली गर्न आफूहरु साउनको पहिलो दिनदेखि नै कार्ययोजनाका साथ लागिरहेको बताउँछन् ।