बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

गुलरिया : बर्दियामा बाघको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार पाटे बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ मोतिपुरका ७० वर्षीय गोरे थापाको मृत्यु भएको हो । शनिबार भैसी चराउन सामुदायिक वनतिर गएका थापा अबेरसम्म घर नफर्किएपछि निकुञ्जको टोलीले हात्तीको सहायताबाट खोजी गर्ने क्रममा कालीगौडी बफरजोन सामुदायिक वनमा आइतबार बिहान मृत भेटिएको बर्दिया निकुञ्जले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार थापाको सब ओराही पुलदेखि करिब ५ सय मिटर तल खोलाको बाँध नजिकै गर्दनको मासु खाइ टाउको र शरीरको भाग छुट्टिएको, दाहिने खुट्टा शरीरको भागबाट समेत छुट्टिएको र पैतलाको भाग बाहेक खुट्टाको भाग खाइ मृत अवस्थामा फेला परेको थियो ।