शिक्षण अस्पतालका स्वास्थ्यकर्मीद्वारा मेडिकल काउन्सिल, श्रम र जिल्ला प्रशासनमा पत्राचार

गगन पौडेल । नेपालगन्ज
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका आन्दोलनरत स्वास्थ्यकर्मीले सेवा सुविधा उपलब्ध गराउन माग गर्दै आइतबार नेपाल मेडिकल काउन्सिल, जिल्ला प्रसाशन बाँके र श्रम कार्यालयमा पत्राचार गरेका छन् ।
शिक्षण अस्पतालका कर्मचारीको प्रतिनिधित्व गर्दै अशोककुमार दीक्षित, विजयकुमार त्रिपाठी र मुनिर खानले हस्ताक्षर गरेको पत्रमा तीन महिनादेखि मासिक पारिश्रमिक, नाइट तथा जोखिम भत्ता, कोभिड जोखिममा काम गर्दा खाजा खर्चको रकम आदि नपाएको उल्लेख छ । अस्पतालमा डाक्टरहरुले त चार महिनादेखि तलब पाएका छैनन् । उनीहरुले छिटो भन्दा छिटो कर्मचारीका समस्या समाधान नगरिए अस्पताल बन्द गर्ने चेतावनी दिएका छन् ।
आन्दोलन स्वस्फूर्त रुपमा रहेको, भोको पेट र उधारो धान्न नसकेर आन्दोलनको विकल्प नदेखिएको, ट्रेड युनियनको प्रक्रिया लामो भएको हुँदा तलबकै लागि ती सबै प्रक्रिया पूरा नगरी परीक्षण गर्न आउने सेवाग्राही र अन्तरंग बिरामीलाई मर्का नपर्ने गरी आलोपालो मिलाएर आन्दोलनमा सरिक रहेको नर्सिंग अधिकृत सुमन गिरीले बताइन् । शिक्षण अस्पतालका स्वास्थ्यकर्मीहरु सेवा सुविधा माग गर्दै १ साउनदेखि अस्पतालको लेखा शाखा र प्रशासनमा तालाबन्दी गरेर आन्दोलन गरिरहेका छन् ।