बकर इदमा सार्वजनिक विदा दिन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सहाबुद्दिन हलवाई । नेपालगन्ज
मुस्लिम समुदायको दोस्रो ठूलो पर्व इदुल अजह (बकर इद) मा राष्ट्रिय सार्वजनिक विदा माग गर्दै नेपाल मुस्लिम संघ बाँकेले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन बुझाएको छ ।
संघका सभापति मोहम्मद याकुब अन्सारीले आइतबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालमार्फत प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएका हुन् ।
मुस्लिम समुदायको ६ श्रावणमा बकर इद छ । इस्लाम धर्मलम्वीहरुको महान पर्व ईदुल फित्र (ईद), इदुल अजह (बकर इद) र मोहम्मद डेमा विगतमा नेपाल सरकारले राष्ट्रिय विदा दिँदै आएकोमा केपी शर्मा ओली नेतृत्वको सरकारले यी पर्वलाई सामुदायिक स्तरको विदा दिने निर्णय गरेको हो । संघले विदा कटौती भएकोमा आपत्ति जनाउँदै पुनः सार्वजनिक विदा दिन माग गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले बारम्बार विदाकै दिन परीक्षा तालिका सार्वजनिक गरेर मुस्लिम विद्यार्थीहरुलाई चाडपर्व मनाउनबाट बञ्चित गराउँदै आएको भन्दै आपत्ति जनाइएको छ ।
ज्ञापन पत्र बुझ्दै बाँकेका जिल्ला प्रमुख अधिकारी गेलालेले बकर इद मनाउँदा स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गर्न मुस्लिम समुदायसँग आग्रह गरेका थिए ।