थारुको परम्परागत पेशालाई उद्यम बनाउन सुझाव

संजय आचार्य । गुलरिया
थारू महिला उत्थान केन्द्रकी संस्थापक सदस्य तथा कार्यकारी निर्देशक प्रिज्मा सिंह थारूले थारू महिलाहरूको क्षमता विकास, आर्थिक सबलीकरण र नेतृत्व निर्माणका लागि परम्परागत पेशालाई उद्यममा रूपान्तरण गर्नुपर्ने सुझाव दिनुभएको छ ।
संयुक्त राष्ट्रसंघीय महिला निकाय (युएन वुमन) को आर्थिक सहयोग तथा थारू महिला उत्थान केन्द्र र लुम्बिनी अपाङ्गता विकास केन्द्रको संयुक्त साझेदारीमा  सञ्चालित हाम्रो साहस परियोजना’ अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो। परियोजनालाई युके इन्टरनेशनल डेभलपमेन्ट, हाम्रो साहस तथा युएन वुमनले सहयोग गरेका छ्न् ।
बर्दियाको गुलरियामा शनिबार आयोजित ‘महिला उद्यमीहरूबीच अनुभव तथा सिकाइ आदान प्रदान कार्यक्रम’लाई सम्बोधन गर्दै उहाँले यस्तो सुझाव दिनुभएको हो।
कार्यकारी निर्देशक सिंहले स्थानीय स्तरमा महिलाहरूलाई रोजगारीका अवसर सिर्जना गर्न, आर्थिक अवस्था सुदृढ बनाउन तथा नेतृत्व क्षमताको विकास गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो। वहाँले समुदायमा विद्यमान हानिकारक अभ्यास तथा विभेदकारी मूल्य मान्यतालाई न्यूनिकरण गर्दै महिलाहरूलाई सामाजिक तथा राजनीतिक नेतृत्वमा स्थापित गर्न आवश्यक प्राविधिक र सीपगत सहयोग उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो।
वहाँका अनुसार महिलाहरूले परम्परागत रूपमा गर्दै आएका विभिन्न पेसा तथा व्यवसायलाई व्यवस्थित र उद्यममुखी बनाउन सके उनीहरूको आर्थिक आत्मनिर्भरता बढ्नुका साथै समुदायको समग्र विकासमा समेत योगदान पुग्नेछ।
बर्दियाका विभिन्न स्थानीय तहका महिला उद्यमीहरूले सञ्चालन गर्दै आएका व्यवसायका अनुभव, उपलब्धि, समस्या तथा चुनौतीबारे छलफल गर्ने र एकअर्काका सफल अभ्यासबाट सिक्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सहभागी महिलाहरूले आफ्ना व्यावसायिक अनुभव तथा सिकाइहरू आदानप्रदान गर्नुका साथै व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका समस्याबारे छलफल गरेका थिए। साथै, आगामी दिनमा व्यवसायलाई थप प्रभावकारी र दिगो बनाउने विषयमा योजनासमेत तयार पारिएको थियो।
कार्यक्रमको सहजीकरण नेपाल ट्रेनिङ रिसर्च प्रालि नेपालगन्जका सञ्चालक हरिप्रसाद सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा बर्दियाको बढैयाताल, राजापुर, बारबर्दिया, मधुवन र गुलरिया क्षेत्रका २९ जना महिला उद्यमी तथा सहभागीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा महिला उद्यमशीलता प्रबर्द्धन, क्षमता अभिवृद्धि र अनुभव आदानप्रदानका विभिन्न विषयमा छलफल गरिएको थियो।