‘एलिफेन्ट्स इन द फग’ फिल्मको नेपालगन्जमा विशेष प्रदर्शनी

नेपालगन्ज : अविनाशविक्रम शाहद्वारा निर्देशित नेपाली कथानक चलचित्र एलिफेन्ट्स इन द फग (उनीहरु)को नेपालगन्जमा विशेष प्रदर्शनी गरिएको छ ।
नेपालगन्जको क्यूएफएक्समा आइतबार आयोजित विशेष समारोहमा निर्माता अनुप पौडेल र कलाकार एलिज घिमिरेले चलचित्र प्रदर्शनपछि दर्शकहरुसँग अन्तरक्रिया गर्नु भएको थियो ।

सिनेमामा जंगली हात्तीको त्रास र समाजको छेउमा बस्ने किन्नर (तेस्रोलिंगी) समुदायको संघर्ष, पहिचान र भावनात्मक सम्बन्धको कथा रहेको छ । यो चलचित्रले सन् २०२६ को कान्स फिल्म फेस्टिभलमा जुरी प्राइज जित्न सफल भएको छ । चलचित्र ९९औँ एकेडेमी अवार्डस् (ओस्कार) मा ुबेस्ट इन्टरनेसनल फिचर फिल्मु विधाका लागि नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिस भएको छ। ओस्कारमा उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनय विधामा मनोनीत भएको छ।
नेपालका सिनेमा घरहरूमा यो फिल्म ४ सेप्टेम्बर २०२६ (भदौ १९) देखि प्रदर्शन भइरहेको छ।
चलचित्रमा अभिनेत्री गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्कीलगायतको अभिनय छ। चलचित्र निर्मातामा नेपालबाट अनुप पौडेल, फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स रहेका छन्। निर्देशक शाहको नै पटकथा रहेको चलचित्रमा अविनाशविक्रम शाह र सन्दीप बादलको कथा छ।