रेडक्रसद्वारा नसर्ने रोगबारे स्वयंसेविकालाई अभिमुखीकरण
प्रह्लाद विश्वकर्मा । नेपालगन्ज
नेपाल रेडक्रस सोसाइटी बाँकेले जिल्लाका तीन स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई विपद्का बेलामा नसर्ने रोगबारे अभिमुखीकरण गरेको छ ।
डेनिस रेडक्रसको सहयोगमा रेडक्रस बाँकेले नरैनापुर, राप्तीसोनारी र डुडुवा गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई छुट्टाछुट्टै रुपमा एक एक दिने अभिमुखीकरण गरेको हो ।
कार्यक्रममा नसर्ने रोगको जोखिम, सम्वेदनशीलता तथा आवश्यकता पहिचान, पीइएनडि टेस्ट किटको आवश्यकता, महत्व, स्थानीय शासन प्रणालीमा समेटिने विषयहरु, नसर्ने रोग सम्बन्धित प्याकेज बारे जानकारी गराउनुको साथै महिला स्वास्थ्य स्वयंसेविका र सरोकारवालाहरुको भूमिकाको बारेमा छलफल भएको थियो ।
मुख्य रुपमा नसर्ने ५ प्रकारका रोगहरुमा मुटु तथा रक्तनलीसम्बन्धी रोग, क्यान्सर, मधुमेह, श्वाप्रस्वास सम्बन्धी दिर्घरोग र मानसिक स्वास्थ्य समस्याको बारेमा जानकारी गराइएको थियो । साथै सरुवा रोग भन्दा नसर्ने रोगहरु दिन प्रति दिन मानवहरुमा बढ्दै गएको चर्चा गर्दै यस्तो प्रकारको रोगहरुबाट सुरक्षित रहन दैनिक आहार र जीवनयापनको शैली परिवर्तन गर्न स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
उक्त अभिमुखीकरणको सहजीकरण कञ्चनपुर जिल्ला लालझाडी गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक नन्दलाल राना, जनस्वास्थ्य अधिकृत विकास डंगौरा र नेरेसो बाँके शाखाका कार्यक्रम अधिकृत प्रह्लाद विश्वकर्माले गर्नु भएको थियो ।
उक्त कार्यक्रमा नरैनापुर गाउँपालिका ६ का वडाअध्यक्ष प्रेमचन्द्र मौर्य, राप्तीसोनारी ७ का वडा अध्यक्ष रामलखन थारु, ६ का कार्यवाहक वडाध्यक्ष नरबहादुर पुन, स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसी, नेरेसो नरैनापुर पालिका शाखाका संयोजक विक्रमप्रसाद वर्मा, डुडुवा पालिका शाखा संयोजक सोहनलाल यादव लगायतले विचार व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष, स्वास्थ्य चौकी प्रमुख, शिक्षक, सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरु, नेरेसो जिल्ला शाखा, नरैनापुर, राप्तीसोनारी र डुडुवा पालिका शाखा र उपशाखाका पदाधिकारी तथा स्वयंसेवकहरुको सहभागिता रहेको थियो ।









