सुरु भयो बडादशैं, आज जमरा राख्नुभयो त ?
नेपालगन्ज : हिन्दु धर्मालम्बीहरुको महान चाड बडादशैं आजबाट सुरु भएको छ ।
दशैंको पहिलो दिन घटस्थापना हो । पञ्चाङ्ग निर्णायक समितिका अनुसार आइतबार घटस्थापनाको शुभ साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको छ । घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ ।
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म बडादशैं मनाइन्छ । नवरात्रभर दुर्गादेवीका नौ रुपको पूजा गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
बडादशैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्राइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् । दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । .
यस वर्षको दशैंको टीका कात्तिक ४ गते परेको छ । पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तमसाइत कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटलाई तोकेको छ । टीका लगाउने व्यक्ति पूर्वतिर र टीका थाप्नेहरुले पश्चिम मुख पार्नु उत्तम हुने समितिले जनाएको छ ।








