कैलालीका नदीमा किन बर्सेनी घट्दैछन् डल्फिन ?

मानबहादुर ठकुल्ला । टीकापुर
‘कैलालीका नदीमा दुई दशक अघि सयौंको संख्यामा डल्फिन भेटिन्थे । २०७३ सालमा ६५ वटा डल्फिन गणना भयो । २०७५ सालमा संख्या घटेर ५५ पुग्यो’, डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुंगाना भन्छन्, ‘यो वर्ष ३५ देखि ४० वटा डल्फिन मात्र देखिएका छन् । कति संख्यामा छन् भन्ने त गणनाको रिपोर्टपछि मात्र थाहा हुनेछ ।’
हरेक वर्ष असार ,श्रावण, भाद्र र असोज महिनामा कैलालीका कर्णाली नदी, पथरिया, काढा, कान्द्रानदी ,गैरीनाला, रेप्टीनालामा गङ्गेटिक डल्फिन देखिन्छन् । टीकापुर नगरपालिका र भजनी नगरपालिकाको डल्फिन संरक्षण सर्किट क्षेत्रका १३ स्थानमा एक सातादेखि डल्फिन गणना सुरु गरिएको छ । जमरा कुलो पथरिया संगम, जनकपुर (बेलुवाघाट),सोनफाटा उत्तरपुर बाउन्नघाट, बैदी झरन पथरिया संगम, गैरी पथरिया संगम,काँढानदी पथरिया संगम, पथरिया काढा मोहना त्रिवेणी, रेप्टीकुलो मोहना नदी संगम, कुशमघाट (मरियाघाट), कुसमघाट मोहना पथरिया संगम, तिलहाघाट खक्रौला पुरानो भन्सार नजिक, चौकुर्दी कर्णाली मोहना संगम, कर्णाली सत्तीपुल क्षेत्रमा डल्फिन गणना भइरहेको अध्यक्ष ढुंगानाले बताए ।
डल्फिनको संख्या बर्सेनी घटिरहेकोले संरक्षण गर्न आवश्यक रहेको संस्थाका महासचिव जयप्रसाद ढुंगाना बताउँछन् ।
डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीले ओत, कछुवा, गोहि, पंक्षी, लोपोन्मुख माछा, जैविक बिबिधता संरक्षण गर्ने भएकाले संरक्षणको लागि एकीकृत रणनीति योजना तयार गर्न गैरहेकाले पनि डल्फिन गणना आवश्यक भएको बताउनुभएको छ ।