नेपालगन्जमै बिक्यो, १ लाख ३० हजारमा एउटा कुर्सी !

नेपालगन्ज : एउटा कुुर्सीको मोल कति हुन्छ होला ? सुन्दा नै अचम्म लाग्नसक्छ, नेपालगन्जमै एउटा कुर्सीको मोल झन्डै एक लाख ३० हजार रुपैयाँ छ ।
सुर्खेत रोडस्थित अम्बे फर्निसिङ गार्डेनमा रहेको एउटा कुर्सीको मोल एक लाख २९ हजार ८ सय रुपैयाँ छ । अम्बेका सञ्चालक पंकजकुमार श्रेष्ठ भन्छन्, ‘भीबोन कम्पनीको यो कुर्सी मानव स्वास्थ्यका हिसाबले लाभदायी छ ।’ नेपालगन्जमा यो कुर्सी एक जनाले किनेको श्रेष्ठले बताए । उनले भने, ‘स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिले किनेका छन् ।’ पूर्ण रुपमा छालाको यो कुर्सीमा ८ सय किलोको तौल राख्दा पनि केही नहुने उनले बताए ।

एक वर्षदेखि भीबोनका कुर्सीहरु बेच्दै गरेको अम्बेले नेपालगन्जको आधिकारिक बिक्रेता हो । शुक्रबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा भीबोनले कम्तीमा ७ हजार ८ सय रुपैयाँदेखि बढीमा एक लाख २९ हजार ८ सय रुपैयाँ सम्मका डेढ दर्जन प्रकारका कुर्सीहरु बिक्रीमा राखिएको जानकारी गराइयो । पत्रकार सम्मेलनमा भीबोनका नेपाल कन्ट्री सेल्स म्यानेजर प्रविण श्रीवास्तवले १४ वटा काठमाडौं उपत्यका र १६ वटा उपत्यका बाहिरका सहरमा भीबोनका डिलरबाट कुर्सी बिक्री भइरहेको बताए । भारतको पुनेमा मुख्य कार्यालय रहेको भीबोनले सिंगापुरमा कर्पोरेट कार्यालय स्थापना गरेर विश्वका १२३ देशमा कुर्सीको व्यापार गरिरहेको जनाएको छ ।