पशुपतिदयाल मिश्र दलबलसहित एमाले प्रवेश गर्दै

नेता पशुपतिदयाल मिश्र । फोटो सौजन्य : खगेन्द्र दाहाल

नेपालगन्ज : सूर्य चुनाव चिन्हबाट यसअघिको प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका स्वतन्त्र राजनीतिक समूहका नेता पशुपतिदयाल मिश्र दलबलसहित एमालेमा प्रवेश गर्ने भएका छन् । प्रेस चौतारी नेपाल बाँके शाखाले सोमबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा एमाले बाँकेका उपाध्यक्ष किश्मतकुमार कक्षपतिले मिश्रसहित तीन हजारभन्दा बढी नेता कार्यकर्तालाई एमाले प्रवेश गर्न ब्यापक तयारी गरेको दाबी गरे ।

आगामी १ मंसिरमा मेरो प्लानेट फनपार्क बालेगाउँमा आयोजना गरिने पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल आउँदैछन् । प्रेस चौतारी बाँकेका उपाध्यक्ष विनोद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य मो.हारुनले मधेसी र मुस्लिम समुदायका व्यक्तिले पार्टी प्रवेश गर्ने बताए । मिश्रसँगै करिम खाँ, गिरिजा पाठकलगायतले पार्टी प्रवेश गर्ने तयारी छ । नेता मिश्रले पार्टी प्रवेश गर्नेहरु ६० प्रतिशत बाँके क्षेत्र नं. २ का व्यक्तिहरु रहेको बताए ।