बाँकेमा बन्दका कारण यात्रुलाई सास्ती, एकजना बन्दकर्ता पक्राउ

नेपालगन्ज : पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव बाँकेमा पनि आंशिक रुपमा परेको छ ।

बन्दका कारण सवारी साधन नचल्दा भारतका साथै विभिन्न जिल्लावाट नेपालगन्ज, कोहलपुर लगायत क्षेत्रमा आएका यात्रुहरुलाई सास्ती भएको छ । बन्दका कारण सार्वजनिक सवारी साधनहरु नचल्दा खासगरी उपचारका लागि आएका विरामी र तिनका आफन्तका साथै भारतवाट फर्केका नागरिकहरु अलपत्र परेका छन ।


मंगलवार बिहान देखि नेपालगन्ज, कोहलपुर हुँदै संचालन हुने लामो तथा छोटो दुरिका सवारी साधनहरु चलेका छैनन् भने निजी सवारी साधनहरु छिट्फुट रुपमा चलेका छन । जिल्लाका मुख्य बजार क्षेत्रमा ई–रिक्सा र मोटरसाइकलहरु चले पनि अन्य स्थानमा कमै मात्रामा चलेका छन । मुख्य बजार क्षेत्र नेपालगन्ज, कोहलपुरलगायत क्षेत्रमा छिटपुट मात्रामा पसल तथा ब्यवसाय खुलेका छन भने शैक्षिक संस्था पुर्णरुपमा बन्द रहेका छन । बाँकेका चोक चोकमा प्रहरी परिचालन गरिएको छ ।


यसैबिच बन्द गराउँदै सडकमा निस्किएका विप्लवका एक कार्यकर्तालाई बाँके प्रहरीले पक्राउ गरेको छ । पञ्चपुरी नगरपालिका–११ सुर्खेत घर भइ हाल जानकी गाउँपालिका–३ बाँके बस्ने ३३ बर्षिय पुष्कल बहादुर माझीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
उनलाई नेपालगन्जको औद्योगिक क्षेत्र अगाडीबाट सडकमा गुडिरहेका सवारीसाधनमा अवरोध गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।