पक्राउ परेका विप्लव कार्यकर्ता माझी रिहा

नेपालगन्जको सुर्खेत रोडमा विप्लव कार्यकर्ताको नेपाल बन्दमा गरेको विरोध प्रदर्शन

नेपालगन्ज : पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा गरिएको नेपाल बन्दको क्रममा प्रदर्शनका क्रममा पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पुष्कलबहादुर माझीलाई प्रहरीले साँझतिर रिहा गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेले साँझतिर रिहा गरेको जानकारी दिए । बन्दमा बाँके जिल्लामा आंशिक मात्र प्रभाव परेको थियो । नेपालगन्ज, कोहलपुर हुँदै सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी साधनहरु दिनभर चलेनन् । निजी सवारी साधनहरु छिट्फुट रुपमा चले । मुख्य बजार क्षेत्र नेपालगन्ज, कोहलपुरलगायत क्षेत्रमा छिटपुट मात्रामा पसल तथा ब्यवसाय खुलेका थिए । शैक्षिक संस्था पूर्ण रुपमा बन्द गरिएका थिए । नेपालगन्जलगायत सहरी क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको थियो । विप्लव कार्यकर्ताले मध्यान्नतिर नेपालगन्जको वीपी चोकदेखि धम्बोझी चोक क्षेत्रमा विरोध प्रदर्शन पनि गरेका थिए ।