पशुपतिदयाल मिश्रलाई एमालेमा स्वागत गर्दै केपी ओलीले भने, ‘बाँकेवासीको जय होस्’

नेपालगन्ज : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्माले बाँकेवासीका लागि जयकार गरेका छन् ।
पूराना राजनीतिज्ञ पशुपति दयाल मिश्रलाई बुधबार एमालेमा प्रवेश गराउने कार्यक्रमलाई नेपालगन्जमा सम्बोधन गर्दै अध्यक्ष ओलीले बाँकेमा विकासको कामना पनि गरेका थिए ।

नेपालगन्जको बालेगाउँस्थित मेरो प्लानेट फनपार्कमा दिउँसो आयोजित कार्यक्रममा आफ्नो भाषण समापन गर्दै उनले भने, ‘बाँकेको भलो होस् । बाँकेमा विकास होस् र बाँकेवासीको जय होस् ।’ उनले आफू प्रधानमन्त्री हुँदा सिक्टा सिँचाइ आयोजनाको नहरमा पानी सञ्चालन गरेकाले किसानले सिँचाइ सुविधाबाट लाभ लिएको बताए ।

भाषणको अधिकांश समय आफू प्रधानमन्त्री हुँदा गरेका कामको चर्चा गरेर बिताएका ओलीले एमालेलाई विकासवादी दलका रुपमा ब्याख्या गरेका थिए । भर्खरै मात्र पार्टी प्रवेश गरेका पशुपतिदयाल मिश्रको पटक पटक तारिफ गरेका ओलीले अब बाँकेलाई एमालेको लालकिल्ला बनाउन कार्र्यकर्र्तालाई निर्देशन दिए ।
एमाले बाँकेका अध्यक्ष निरक गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा लुुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेल, पार्टीका लुुम्बिनी प्रदेश अध्यक्ष लीला गिरी, एमाले बाँकेका उपाध्यक्ष किश्मतकुमार कक्षपति, नवप्रवेशीद्वय पशुपति दयाल मिश्र र करिम खाँले एमाले पार्टीका किन कार्यकर्तालाई आकर्षण छ भनेर व्याख्या विश्लेषण गरेका थिए । एमाले बाँकेका सचिव रत्न खत्रीले कार्यक्रममा जिल्लाका सबै स्थानीय तहबाट गरी चार हजारभन्दा बढी व्यक्ति एमालेमा प्रवेश गरेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *