बाँकेमा नेकाको स्थानीय तहमा सभापतिको एक मात्र महिला उम्मेदवार उमा थापा मगर

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेपालगन्ज नगर समितिको सभापतिमा बुधबार उम्मेदवारी दिएकी छन् । कांग्रेसको बाँकेका ८ वटै स्थानीय तहमा सभापति पदमा उम्मेदवारी दिने उमा एक जना मात्र महिला उम्मेदवार हुन् । नेपालगन्जमा सभापति पदमा उनले विनोद रिजाल र प्रशान्त विष्टसँग प्रतिष्पर्धा गर्दैछिन् ।
‘संगठन निर्माण नै मेरो प्रमुख एजेण्डा हो, आउँदै गरेको स्थानीय, प्रदेश र संघिय निर्वाचनमा पार्टीलाई जिताउनका लागि मेरो उम्मेदवारी हो,’ उनले भनिन् ‘कार्यकारी पदमा महिलाको उम्मेदवारी अहिलेसम्म छैन, महिला पनि नेतृत्वमा आउन सक्षम छन भन्नका लागि मैले उम्मेदवारी दिएकी हुँ ।’
नेपालगन्ज उपमहानगरपालिका सभापति पदमा तीन जना, दुई जनाको उप–सभापति पदमा ६ जना, २ सचिव पदमा ५ जना र २ सह(सचिव पदका लागि ६ जनाको उम्मेदवारी गरी ५९ जनाको उम्मेदवारी दर्ता भएको मतदान अधिकृत सुभास गौतमले जानकारी दिएका छन् । बिहीबार बिहान ९ः३० नेपालगन्जको जिल्ला समन्वय समितिको सभा हलमा मतदान हुँदैछ ।