बाँकेमा समातियो नरभक्षी पाटे बाघ

राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीद्वारा नियन्त्रणमा लिएको नरभक्षी बाघ । फोटो सौजन्य : यज्ञबहादुर खत्री

रमेशकुमार यादव । ढलैया नहर
राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले बाँकेको राप्तीसोनारी गाउँपालिकाको सामुदायिक वनमा रहेको नरभक्षी बाघ नियन्त्रणमा लिएको छ ।
अस्थायी प्रहरी पोष्ट फत्तेपुरका सइ यज्ञबहादुर खत्रीका अनुसार बुधबार बिहान राप्तीसोनारी–६ स्थित राप्ती पीडित सामुदायिक वनबाट कोषको टोलीले बाघ नियन्त्रणमा लिएको जानकारी दिए ।
पाडो राखेर बाघ नियन्त्रणको प्रयास गरिएकोमा बाघले मंगलबार राति नै पाडो खाएको थियो । बिहान ७ बजेतिर बाँकी रहेको पाडोको मासु खान आएको बेलामा पहिलो डार्कको प्रयास विफल भएको थियो । ९ः४५ बजेतिर दोस्रो पटकको प्रयासमा डार्क सफल भएको थियो । नियन्त्रणमा लिएको बाघलाई बाँके राष्ट्रिय निकुञ्जको खैरी पोष्टमा बाघ लगेर राखिँदैछ । बाघ नियन्त्रण अभियानमा राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटनरी डा.चित्रबहादुर खड्का, प्राविधिक फिरुलाल थारुसहितको टोली २ वटा हात्तीसहित सो क्षेत्रमा खटेको थियो । राप्तीपारी मात्र एक वर्षको अवधिमा पाटेबाघको आक्रमणबाट अहिलेसम्म ५ जनाको ज्यान गइसकेको छ ।