अमेरिकन अटोमेटिक पेस्तोलसहित ३ पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले अटोमेटिक पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेका अनुसार मंगलबार राति ९ बजे बाँकेको डुडुवा गाउँपालिका–४ स्थित राप्ती नदी पुल नजिकबाट नेपालगन्ज–१२ का २८ वर्षीय दीपेन्द्र अधिकारी, नेपालगन्ज–१८ का २२ वर्षीय सुशान्त केसी र कैलालीको लम्कीचुहा नगरपालिका–३ का ३२ वर्षीय द्वारिका उपाध्यायलाई मेड इन युएसए लेखिएको अटोमेटिक पेस्तोल, सोही पेस्तोलमा लोड गोली थान ९ थान र खुडा थान १ र नक थानसहित पक्राउ गरिएको हो । राप्ती नदीमा बन्दुक पड्केको सूचनाका आधारमा इप्रका बनकट्टी ‘क’बाट खटिएको टोलीले केसीले चलाएको बाग्मती प्रदेश ०१–०२५ च ३०९७ नं.को गाडी रोकी चेकजाँच गर्ने क्रममा हतियार फेला पारेको हो । उनीहरुको कसुर प्रमाणित भएमा मुलुकी फौजदारी संहिता २०७४ अनुुसार ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना हुनसक्छ । बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले निर्वाचन नजिकिँदै गर्दा साना हतियारसहित व्यक्ति पक्राउ पर्नुले सुरक्षा चुनौती थपिएको बताए ।