टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु, २ घाइते

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा मोटर साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट टीकापुरका इन्चार्ज प्रहरी नायव निरीक्षक विनोदप्रसाद जोशीका अनुसार दुई वटा मोटरसाइकल ठोक्किँदा से ३ प ९७४६ नम्बरको मोटर साइकलमा सवार टीकापुर नगरपालिका २ का अन्जील कार्कीको मृत्यु भएको हो । टीकापुर अस्पतालमा उपचारको क्रममा शुक्रबार दिउँसो २ बजे उनको मृत्यु भएको हो । लु ७४ प नम्बरको मोटर साइकलमा सवार बर्दिया गुलरिया नगरपालिका ४ का विवश चौधरी र राजापुर नगरपालिका १ का प्रजापति चौधरी घाइते भएका छन् । घाइते दुबै जनालाई थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रेफर गरिएको टीकापुर ट्राफिकले जनाएको छ ।
दुई मोटरसाइकल टीकापुर नगरपालिका ४ अस्नेहरी स्थित टीकापुर खक्रौला सडक खण्डमा दिउसो १ः३० बजे दुर्घटना भएको थियो । शुक्रबार टीकापुर ट्राफिकले नियम उल्लंघन गरी सवारी साधन चलाउने मध्येका ३५ वटा सवारीसाधन नियन्त्रणमा लिएको समेत इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।