पीएम कप महिला भलिबल : उद्घाटन खेलमा पुलिसको विजयी सुरुवात

प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको आठौं संस्करणको उद्घाटन खेलमा नेपाल पुलिस क्लब र लुम्बिनी युनाइटेडबीचको प्रतिष्पर्धा

नेपालगन्ज : प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको आठौं संस्करणमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।
बाँके जिल्ला भलिबल संघले नेपालगन्ज रंगशाला परिसरको कबर्ड हलमा आयोजना गरेको प्रतियोगिताको बिहीबार उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजक टिम लुम्बिनी युनाइटेडलाई सोझो तीन सेट (२५–१४, २५–१३ र २५–९) मा पराजित गरेको थियो ।

प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको आठौं संस्करणको उद्घाटन मन्तव्य दिँदै युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’

यसअघि प्रतियोगिताको बिहीबार युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ले उद्घाटन गरेका थिए । मन्त्री अथकले उनले मोफसलमा जनस्तरबाट थालिएका राम्रा खेल प्रतियोगितालाई प्रभावकारी बनाउनेबारे मन्त्रालयले सहयोग गर्ने नीति लिने बताए । उनले भने, ‘प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताले दुई देशका जनताबीच जनस्तरबाट सम्बन्ध विस्तार गर्न मद्दत मिल्ने मैले ठानेको छु । देशभर यस्ता विशिष्ठ पहिचान बोकेका प्रतियोगितालाई मन्त्रालयको तर्फबाट सहयोग हुनेछ ।’प्रदेशसभा सदस्य तथा प्रतियोगिता मूल आयोजक समितिका संयोजक कृष्णा केसी ‘नमूना’को अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नृत्य र खेल कौशल प्रदर्शन गरिएको थियो । लिगकम नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड एकेडेमी, आयोजक लुम्बिनी युनाइटेड, भारतको छत्तीसगढ स्पोट्र्स एकेडेमी (महाराष्ट्र) र हरियाना स्पोट्र्स क्लब सहभागी भएका छन् । डिफेन्डिङ च्याम्पिन एपीएफ भने यसपटक प्रतियोगितामा सहभागी भएको छैन । एपीएफ दोस्रो, पाँचौँ र सातौं संस्करणको च्याम्पियन हो । १४ चैतसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले दुई लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।