१३ बुँदे नेपालगन्ज घोषणापत्र जारी गर्दै सामुदायिक रेडियो सम्मेलन सम्पन्न (घोषणापत्रसहित)

नेपालगन्ज : सामुदायिक रेडियो प्रसारक संघ नेपालको १६औं वार्षिक साधारणसभा तथा राष्ट्रिय रेडियो सम्मेलन १३ बुँदे नेपालगन्ज घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
घोषणापत्रमा ८ बुँदे मागहरु छन् । सामुदायिक रेडियोले तिर्नु परेको वितरण शुल्क रोयल्टी तथा नविकरण शुल्क खारेज गरी अन्य सञ्चार माध्यमको पहुँच बाहिर रहेका दुर्गम एवं पछाडि परेका क्षेत्रमा सञ्चालित सामुदायिक रेडियोलाई विशेष सहुलियत र सहयोगको प्रबन्ध गर्न माग गरिएको छ । त्यसैगरी रेडियोहरु समायोजन गर्न, विषयगत बनाउन नीति र सहुलियत प्रदान गर्न सरकारसँग माग गरिएको छ ।
सामुदायिक रेडियोको छुट्टै ऐनको व्यवस्था गर्न, समानुपातिक विज्ञापन नीति लागू गर्न र स्थानीय स्तरका कार्यक्रम, सूचना तथा विज्ञापन सामुदायिक रेडियोबाट अनिवार्य सम्प्रेषण गर्ने नीतिगत व्यवस्था अविलम्ब गर्न माग गरिएको छ ।