पीएम कप महिला भलिबल : ‘ओभर कन्फिडेन्ट’ले हा-यो पुलिस

नेपालगन्ज : उद्घाटन खेलमा जितको सुरुवात गरेको नेपाल पुलिस क्लबले शुक्रबार ‘ओभर कन्फिडेन्ट’का कारण पराजित हुनु परेको छ ।
प्रतियोगिताको दोस्रो दिनको पहिलो खेल पुलिस क्लब र भारतको हरियाणा स्पोर्टस् क्लबबीच भएको थियो । पुलिसले सुरुका दुई सेट (२५–१७ र २५–१९) मा लगातार सहज जित निकालेको थियो । बद्लाको भावले निकै आक्रमणमा उत्रिएको हरियाणा स्पोटस्ले सुरुदेखि नै लगातार दुई दुई अंकको अन्तर निकाल्दै तेस्रो सेट (२५–१८) र चौथो (२५–१६) हुँदै पाँचौं सेटमा पनि दुई अंक (१५–१३)अंकले जित निकालेको थियो । खेल निकै रोमाञ्चक भए पनि दर्शकहरुले ‘ओभर कन्फिडेन्ट’ले पुलिस क्लबले हारेको प्रतिक्रिया दिएका थिए । प्रतियोगितामा नेपाल पुलिस क्लबकी कोपिला राना वुमन अफ द म्याच भएकी थिइन् ।
दोस्रो खेलमा न्यू डायमण्ड स्पोट्स एकेडेमीले भारतको एकलव्य स्पोर्टस् कम्प्लेक्सलाई सोझे ३ सेटमा (२५–१२, २५–८ र २५–५) पराजित गरेको हो । पहिलो सेट बाहेक न्यू डायमण्डकी प्रभावशाली खेलाडी प्रतिभा माली अधिकांश समय मैदान बाहिर नै बसेकी थिइन् । यो जितमा न्यू डायमण्डकी रीमा कुँवर वुमन अफ द म्याच भएकी थिइन् । प्रतियोगिता अन्तर्गत शनिबार लुम्बिनी युनाइटेड र हरियाणा स्पोर्टस् क्लब तथा त्रिभुवन आर्मी क्लब र एकलव्य स्पोर्टस् कम्प्लेक्सबीच प्रतिस्पर्धा हुने बाँके जिल्ला भलिबल संघले जनाएको छ ।