योगाभ्यास गर्दै खेलकुद मन्त्री अथकले भने, ‘योगलाई खेलकुदसँग जोडौं’

काठमाडौं : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले योगलाई खेलकुदसँग जोड्नु पर्ने सुझाव दिएका छन् ।
द आर्ट अफ लिभिङले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मंगलबार काठमाडौंको वल्र्ड ट्रेड सेन्टरमा आयोजना गरेको विशेष कार्यक्रममा मन्त्री अथकले योगलाई खेलकुदकै अङ्गका रुपमा विकास गर्नुपर्ने बताए ।

पछिल्लो समय विश्वभर योग संस्कृतीले ब्यापकता पाइरहेको उल्लेख गर्दै मन्त्री अथकले खेलकुदका अलावा शिक्षा र स्वास्थ्यलाई समेत योग संस्कृतिसँग जोड्नुपर्ने सुझाव दिए । मन्त्री अथक योगाभ्यासमा समेत सहभागी थिए ।

हरेक वर्ष जुन २१ तारिकमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय योग दिवसको सुत्राधार द आर्ट अफ लिभिङका संस्थापक श्री श्री रविशंकर हुन् ।