टीकापुरको अत्याधुनिक बसपार्क सञ्चालनमा

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा अत्याधुनिक बसपार्क सञ्चालनमा आएको छ । बसपार्कमा एक तले टर्मीनल भवन, टिकट काउन्टर, रेस्टुरेन्ट, महिला÷पुरुष शौचालय बनेको छ । लामो र छोटो दुरीका बस, माइक्रो बस, ट्याक्सी, अटो र इ रिक्सा, मोटरसाइकल अलग अलग स्थानमा पार्किङ, फायर हाइरेष्ट सिस्टम र खानेपानीको पनि व्यवस्था रहेको छ । बसपार्कभित्र वाइफाइ र सिसी क्यामेरा पनि जडान हुनेछ ।
बसपार्क नेपाल सरकारको सघन सहरी विकास कार्यक्रमको आर्थिक सहयोगमा राजेन्द्र रोयल जेभी धनगढीले भ्याट वाहेक ८ करोड, ३३ लाख रुपैयाँको लागतमा निर्माण भएको हो । टीकापुर नगरपालिकाले बसपार्कलाई व्यपस्थित रुपमा सञ्चालन गर्न अमीक्षा कन्स्ट्रक्सनलाई ५५ लाख ३८ हजार २५५ रुपैयाँ दिने गरी ३ वर्षको लागि ठेक्का दिएको छ ।
निर्माण सम्पन्न भएको २ वर्षपछि टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले आइतबार बसर्पाकको उद्घाटन गरेका हुन् । नगर प्रमुख थारुले टीकापुरको विकासका लागि बसपार्क पनि एउटा आधार भएको बताउँदै यसलाई राम्रोसँग सञ्चालन गर्न समितिलाई निर्देशन दिए । बसपार्क सञ्चालनमा आएपछि बजार क्षेत्रमा भइरहेका अव्यवस्थित सवारी साधन पार्किङको समस्या समाधान भइ यसले दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा नगर प्रमुख डंगौराले विश्वास व्यक्त गरे ।