पूर्वविद्यार्थी हुनु त यस्तो पो ! जसले विद्यालयमा स्थापना गरे, २ लाखको अक्षय कोष

नेपालगन्ज : बर्दियाको जगदम्बा माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले विद्यालयमा अक्षय कोष स्थापना गरेका छन् । २०५४ सालको एसएलसी ब्याचका विद्यार्थीले विद्यालयमा दुई लाख सात सय ८७ रुपैयाँको अक्षय कोष स्थापना गरेको प्रधानाध्यापक कलमबहादुर शाहीले जानकारी दिए ।

ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले विद्यालयका प्रधानाध्यापक शाहीलाई चेक हस्तान्तरण गरेका थिए ।

नगर प्रमुख लम्सालले विद्यालयको विकास र विद्यार्थीको सहयोगका लागि कोष स्थापना गरेर पूर्वविद्यार्थीले अनुकरणीय काम गरेको भन्दै प्रशंशा गरेका थिए ।अक्षय कोष सञ्चालनका लागि पूर्वविद्यार्थीले राधाकृष्ण चौधरी अध्यक्ष रहेको समिति पनि गठन गरेका छन् । समितिको सदस्यमा सुष्मा शर्मा, बालकृष्ण विश्वकर्मा, प्रमिल नेपाल खनाल, निर्मला बडुवाल, टेकबहादुर बडुवाल (अध्यक्ष विद्यालय व्यवस्थापन समिति) र सदस्य सचिवमा प्रधानाध्यापक शाही रहेका छन् ।

सदस्य सुष्मा शर्माले अक्षय कोषबाट आर्थिक तथा स्वास्थ्य समस्याका विद्यार्थीलाई र जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गरेर शिक्षाको गुणस्तर बढाउन मद्दत गरिने बताइन् । जगदम्बा माविमा ०५४ सालको एसएलसीकोे ब्याचमा ५९ जना विद्यार्थी थिए ।