तिहारका ५ दिन : यस्तो छ महत्व

नेपालगन्ज : तिहार अर्थात यमपञ्चक कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइन्छ ।
पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा.रामचन्द्र गौतमका अनुसार यमपञ्चकको पहिलो दिन अर्थात् त्रयोदशीको बेलुका यमदीपदान सुरु हुन्छ । यस दिनलाई धनत्रयोदशी वा धनतेरस र भाँडाकुँडा किन्ने दिन हुन्छ । यो वर्ष शनिबार धनतरेस परेको थियो । त्रयोदशीकै दिन काग तिहार पर्छ तर यो वर्ष भने काग तिहार आइतबार परेको छ । कागलाई यमदूत मानिन्छ । काग यमलोक र मत्र्यलोक दुवै ठाउँमा उडेर पुग्छ भनिन्छ । त्यसैले लोकमा भएको शुभसन्देश लिएर जाओस् भनेर ‘काक बलि’ दिने गरिन्छ । कागलाई दही र भात धेरै मन पर्छ भनिएको छ ।
तिहारको दोस्रो दिन चतुर्दशीमा कुकुर तिहार पर्छ । कुकुरलाई पनि यमदूत मानिन्छ । श्याम र सबल भन्ने कुकुर यमलोकको द्वारमा दुईतिर बस्छन् ।
तिहारको तेस्रो दिन लक्ष्मीपूजा हुन्छ । शक्ति, विद्या र धनसम्पत्तिका लागि लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीलाई खुसी पार्न विधिपूर्वक लक्ष्मीको पूजा र दीपावली गरिन्छ । कहिले चतुर्दशीका दिन त कहिले भोलिपल्ट औँसीका दिन लक्ष्मी पूजा पर्छ । यस पटक सूर्य ग्रहणका कारण चतुर्दशीकै दिन अर्थात् सोमबार नै लक्ष्मी पूजा र दीपावली परेको छ । लक्षमीपूजा गरेर दीपावली गरेपछि देउसी भैलो खेल्ने चलन छ । कार्तिक शुक्ल प्रतिपदामा गाई÷गोरु र गोवद्र्धन पूजा हुन्छ । पहिले पहिले सबभन्दा ठूलो धन गोधन मानिन्थ्यो । गाईलाई लक्ष्मीका रूपमा पनि पूजिन्छ । गाईको दूध, दही र घिउ मात्र होइन, गहुँत र गोबर पनि पवित्र मानिन्छ । त्यसैले गाई÷गोरुको रक्षाका लागि गोवद्र्धन पूजा गरिन्छ । औँसीको अन्त्य र प्रतिपदाको आदिमा गाई पूजा गर्नुपर्छ भन्ने शास्त्रीय सिद्धान्त हो ।
यमपञ्चकको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाको दिनमा भाइटीका हुन्छ । यो वर्ष १० कार्तिकमा भाइटीका छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार यो वर्ष भाइटीकाको शुभ साइत ११ः३७ मा रहेको छ । दिदीबहिनीले दाजुभाइको र दाजुभाइले दिदीबहिनीको पूजा गर्छन् । दाजुभाइको उन्नति, प्रगति र सुस्वास्थ्यका लागि दिदीबहिनीले पूजा गर्छन् भने दाजुभाइले दिदीबहिनीको अटल सौभाग्यका लागि पूजा गर्छन् । दिदीबहिनी नहुने दाजुभाइले बनाएकी बहिनीसँग भने पनि टीका लगाउनु भन्ने शास्त्रीय मान्यता छ । यस अवसरमा आफ्नो गच्छेअनुसार दाजुभाइले दिदीबहिनीलाई दक्षिणा, वस्त्र आदि दिन्छन् भने दिदीबहिनीले मिष्ठान्न, पक्वान्न र फलपूmल दिन्छन् । यमुनाको घरमा गएर यमराज यमपञ्चकभरि बसेका थिए । तिहार हाम्रो राष्ट्रिय पर्व हो । एकताको पर्व हो । यसले दाजुभाइ र दिदीबहिनीबीच सौहार्द, सद्भाव र स्नेह बढाउन मद्दत गर्छ । जीवनभर यो सम्बन्ध अटल रहोस् भन्ने कामना पनि यस अवसरमा गरिन्छ ।