असार १५ कसरी मनाउनु भयो ?

नेपालगन्ज : असार १५ अर्थात राष्ट्रिय धान दिवस नेपाली किसानको महत्वपूर्ण पर्व हो । बढी भात खाने नेपालीका लागि त झन यो पर्र्वको महिमा बढी हुने नै भयो । आइतबार सामाजिक सञ्जालमा असार १५ को शुभकामना दिँदै अधिकांश पोस्ट्हरु राखिए । कतिले धान रोपेकै फोटो अपलोड गरे । हिलोमा पसेर धान रोपे जस्तोमा मात्र गरेको फोटो पनि पोस्ट्याइए ।

खेतको डिलमा बसेर अरुको फोटो खिच्दै धान दिवसको शुभकामना दिने पनि भेटिए । हिलोमा रेसलिङ खेलेका, स्कुल र कलेजका विद्यार्थीले हिलो खेलेका तथा विदेशी पर्यटकहरु समेत यस दिनमा धान रोपाइमा सरिक भएका र हिलो खेलेका फोटोले हाम्रो असार १५ रंगीने गरेको छ । धान दिवस पनि पर्यटकीय पर्वको रुपमा समेत विकसित हुँदैछ ।
असार १५ मा दही र च्युराको महत्व अझ बढी छ । त्यसैले एकाबिहानैदेखि दही च्युरेका फोटो त आउने नै भए । सामाजिक सञ्जालका फोटो हेर्दा हेर्दा हैरान भएकाले त दही च्युरा त खाउ तर दही च्युरे नबन भन्न भ्याए । धान दिवस कि स्वा® दिवस भनेर टिप्पणी गरेको पनि पाइयो । धान दिवसमा शुभकामना दिने कतिले सकारात्मक सन्देश दिँदै स्वा®ै सही यही बाहानामा त हिलोमा टेके भनेर पनि लेखेको देखियो । जसले जे भने पनि जसले जे लेखे पनि जस्तोसुकै गरे पनि धान दिवसलाई स्मरण त गरियो ।

विश्वको करीव ७ अरब जनसंख्या मध्ये धानलाई आफ्नो मुख्य आहारका रुपमा प्रयोग गर्नेको संख्या ३ अरव बढी छ । विश्वभरिको खेतीयोग्य जमीनमध्ये करीब १४ करोड ६० लाख हेक्टर भूमिमा धान खेती गरिन्छ । जसमध्ये १० प्रतिशत जमिन अत्यन्त उर्वर रहेको छ । धान सम्वन्धी अध्ययनका अनुसार संसारभरमा गत बर्ष करीव ५३ करोड ५० लाख टन धान वार्षिक रुपमा उत्पादन भएको तथ्यांक प्रस्तुत गरिएको छ । संसारको कूल धान उत्पादनको ९१ प्रतिशत हिस्सा एशियामा मात्र उत्पादन हुने गर्छ । एशिया धानको भण्डार हो । भारत, थाइल्याण्ड र भियतनाम प्रमुख निर्यातकर्ता हुन् भने चीन, नाइजेरिया, मेक्सिको, हाइटि आयात गर्ने राष्ट्र हुन् । एशिया बाहिर जम्मा उत्पादनको ९ प्रतिशत मात्र उत्पादन गरिन्छ । धान नेपाल र दक्षिण एशिया मात्र नभई पुरै एशिया महादेशको प्रमुख खाद्यवाली हो ।

नेपालको मुख्य खाद्य वाली नै धान हो । नेपालको कुल जमिन मध्ये ३५ प्रतिशतमा धान खेति गरिन्छ । देशको कुल ग्राहस्थ उत्पादनमा धानकोे योगदान सवैभन्दा बढी छ ।त्यसैले पनि हरेक नेपालीलाई असार १५ वा धान दिवस एक उत्सव नै हो । यो जसले जसरी मनाए पनि हुन्छ । मेरोखुसीको तर्फबाट पनि हरेक कर्मठ किसानहरुमा धान दिवसको शुभकामना ।