कैलालीका नदीमा देखिन थाले डल्फिन
मानबहादुर ठकुल्ला । टीकापुर
वर्षायाम शुरु भएसँगै कैलालीको नदीमा दुर्लभ डल्फिन देखापर्न थालेका छन् ।
डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाका अनुसार मोहना, पथरैया लगायतका नदीमा डल्फिन देखापर्न थालेका हुन् । संरक्षण क्षेत्रमा एक बच्चासहित चार वटा डल्फिन देखा परिरहेको ढुंगानाले बताए । मनसुन भित्रिएसँगै नदीहरूमा पानीको सतह बढेको छ । नदीमा जलस्तर बढेपछि केही दिन यतादेखि डल्फिन देखापर्न थालेका हुन् । क्षेत्रमा मनसुन अवधिमा मात्र डल्फिन आउने गर्दछन् । अरु, बेला गहिराइ खोज्दै कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा फर्कने गर्दछन् । कर्णालीमा वर्षभरी नै डल्फिन बस्ने गर्दछन् । नदीमा जल सतह बढेपछि कर्णालीबाट सहायक नदीहरूमा डल्फिन आउने गरेको ढुङ्गानाको भनाइ छ ।
उनले गत वर्ष असार पहिलो साता डल्फिन आएको स्मरण गराउँदै थपे, “यो वर्ष केही समय ढिलो गरि पानी परेकाले केही ढिलो गरेर डल्फिन आएका छन् । सिजन सुरु भएपछि डल्फिन अवलोकनका लागि बर्सेनि स्वदेशी तथा विदेशी पर्यटक कैलाली पुग्ने गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले डल्फिनलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । यस क्षेत्रमा डल्फिन संरक्षणका लागि स्थानीयले विविध सचेतनामूलक कार्यक्रम गर्दै आएका छन् ।