‘नेपालगन्जमा पटक-पटक विद्युत जाने समस्या शनिबारसम्म समाधान हुने’

नेपालगन्ज : बाँकेमा लु चलिरहेको बेला पटक पटक विद्युत जाने समस्या आगामी शनिबारसम्म समाधान गर्ने गरी काम गरिरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले मंगलबार नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलसँँग गरेको छलफल कार्यक्रममा प्याकुरेलले अहिले देखिएका सबै समस्याहरु अस्थायी प्रकृतिका रहेको भन्दै शनिबारसम्ममा सम्पूर्ण समस्या समाधान गरिने बताएका हुन् । ‘शनिवारसम्ममा नयाँ ब्रेकर र एअरपोर्ट फिडर जडान गरेर अहिले देखिएका सबै समस्या समाधान गर्ने हिसाबले लागेका छौं’, उनले भने, ‘बत्ती गइरहने समस्यालाई समाधान गर्न हामी लागिपरेका छौं ।’
नेपालगन्ज उपमहानगरपालिकामा भएको छलफलमा नगर प्रमुख विष्टले अत्याधिक गर्मी हुने सहर नेपालगन्जमा पछिल्ला दिनमा विद्युतको नियमित आपूर्तिमा भइरहेका समस्याको कारण, उपमहानगरपालिकाले गर्न सक्ने समन्वय र विद्युत प्राधिकरणले समस्या समाधानार्थ गरिरहेको पहलका विषयमा जिज्ञासा राखेका थिए । नेपालगन्जमा गर्मी समयमा ‘लु’ (तातो हावा) को प्रकोपले नगरबासीलाई आक्रान्त पार्ने भएकाले ‘विद्युतको नियमितता’ सबैको चासो र सरोकारका विषय भएको भन्दै नगर प्रमुख विष्टले खास समस्याका विषयमा नगरबासीलाई जानकारी दिन वितरण केन्द्र प्रमुखलाई बोलाएर छलफल गरिएको बताए ।