बाँकेका पत्रकारद्वारा बाँके निकुञ्ज र कम्दी जैविक मार्गको अवलोकन

फत्तेपुर (बाँके) : बाँकेका पत्रकारले बाँके राष्ट्रिय निकुञ्ज र कम्दी जैविक मार्गको अवलोकन गरेका छन् ।
तराई भू परिधि कार्यक्रम नेपाल कोहलपुरले संरक्षणमा देखिएको चुनौतीहरुलाई सम्बोधन गर्न मंगलबार बाँके निकुञ्ज र बुधबार कम्दी जैविक मार्ग क्षेत्रको अवलोकन गराएको हो ।

जैविक विविधताको संरक्षण, संबद्र्धन, व्यवस्थापन र स्थानीय अभ्यासबारे पत्रकारले जानकारी लिएका थिए । बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) श्यामकुमार साहले निकुञ्ज वन्यजन्तु, वन्यजन्तुको वासस्थान व्यवस्थापनका विषयमा जानकारी गराएका थिए ।

वार्डेन साहले निकुञ्जमा पाटे बाघ र बाघको आहार जन्य वन्यजन्तुको संख्या बढ्दो क्रममा रहेको बताए । त्यसैगरी पत्रकारले कोहलपुरको शक्ति सामुदायिक वनको संरक्षण पोखरी, सामुदायिक वन चौरीडाँडामा बाढीको कटान रोक्न बाँस रोपन क्षेत्र र राप्ती सोनारी गाउँपालिकाको राप्ती पीडित गुलरी सामुदायिक वनमा ८५ हेक्टर क्षेत्रफलमा लगाएको काँडे तार जाली क्षेत्रको अवलोकनमा तराई भू परिधि कार्यक्रमका सहजकर्ता तिलकराम चौधरीले सहजीकरण गरेका थिए । वन संरक्षणकर्मीले सामुदायिक वनको क्षेत्रमा पाएको सफलताबारे जानकारी गराएका थिए ।

कार्यक्रमको अन्तिममा समीक्षा पत्रकार विश्वराज पछल्ड्ड्ग्ग्या र विमला चौधरीले अवलोकनको अनुभव सुनाएका थिए ।

तराई भू परिधि कार्यक्रमका सह प्रबन्धक कमलराज राईले पत्रकारलाई स्थलगत अवलोकन गराएर राम्रा अभ्यासबारे समाचार लेख्न र संरक्षणमा देखिएका चुनौतीबारे सुझाव दिन आग्रह गरेका थिए ।