रक्षा बन्धन र जनै लगाउनु भयो ?

नेपालगन्ज : हिन्दु धर्मालम्बीले बिहीबार जनैपूर्णिमा पर्व मनाइरहेका छन् ।
खासगरी सनातन वैदिक धर्मावलम्बी तागाधारी समुदाय (ब्राह्मण, क्षेत्री, वैश्य)ले प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन आत्माको शुद्धि र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन लगाउँछन् । पुरुषको दाहिने हातमा र महिलाको बायाँ हातमा रक्षाबन्धन बाँध्ने गरिन्छ ।

रक्षाबन्धन लगाइएका हातहरु । फोटो : होमनाथ भुसालको फेसबुकबाट

ब्रतबन्ध भएका ब्यक्तिले रक्षाबन्धनसँगै नयाँ जनै पनि फेर्ने गरिन्छ । हिन्दु दर्शन अनुसार जनैलाई ब्रह्मासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखामध्ये एउटामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ।
तागाधारी समुदायले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ । रक्षा बन्धनका दिन भारतमा भने दिदीबहिनीको हातबाट राखी बाँध्ने चलन छ । नेपालमा पनि तराई र सहरी क्षेत्रमा भारतीय सिकोमा राखी प्रचलन बढ्दो छ । राखी बाँध्नाले दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ।

हरित अभियन्ता हेमन्तराज काफ्लेलाई राखी बाँध्दै ब्रह्मकुमारी दिदी दुर्गा

जनै पूर्णिमाका दिन नेवार समुदायमा मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रैदेखि तापको सञ्चार गर्छ भन्ने मान्यता छ।

क्वाँटी