बाँकेको जानकी-४ मा फस्टायो मकै खेती
रफिक खान । जानकी (बाँके)
इन्सफ खाँ (बाबु खान)ले मकै खेती गरेका छन् । बाँकेको जानकी गाउँपालिका ४ का किसान खाँको १० कठ्ठामा मकै खेती छ । धान खेतीपछि बाँझो रहने खेतलाई उनले तेस्रो बालीको रुपमा मकै खेती रोजेका हुन् । पुर्खौली पेशा खेतीकिसानी रहेका उनी मौसम र माटो मकै खेतीका लागि अनुकूल रहेको बताउँछन् । मकै खेती गर्र्न माटो बलौटे र दोमट हुनु पर्छ । गहिरो जोत्नु पर्छ । केही दिनको लागि खेत खुला छोड्नु पर्छ । ‘सरकारले बीउ र तालिम दिए हामीलाई अझै प्रोत्साहन हुन्थ्यो’,उनी भन्छन्, ‘पहिले मेरो ३ भाग खेत बाँझो हुुन्थ्यो । मकै खेतीबाट धेरै लाभ मिलेको छ ।’
मकै खेतीमा मुख्य समस्या भनेको फौजी किरा हो । जसले मकैको पात, गाभा र डाँठमा क्षति पुर्याउँछ । मौसम परिवर्तन र सिँचाइको अभाव पनि अर्को समस्या हो । नहर छ तर पानी आउँदैन । बिजुलीको पनि समस्या छ । सरकारले सहुलियत दरमा मल, बीउ, र प्रविधि उपलब्ध गराउन किसानहरुको माग छ । मकै खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ । यसको बजार मूल्य पनि राम्रै छ ।
खाँ मात्र होइन, जानकी गाउँपालिकामा धेरै जना किसानले मकै खेती गरेका छन् । उन्नत हाइब्रिड मकै लगाउँछन् । जानकी गाउँपालिकाको कृषि विकास शाखामा कार्यरत प्राविधिक सहायक मनोज मण्डलका अनुसार स्थानीय तहमा किसानले आफ्नो जग्गाको लगभग ६० देखि ८० प्रतिशत हिस्सामा मकै खेती गरिरहेको जानकारी गराउँछन् । उनका अनुसार सिँचाइ सुविधा भएका स्थानमा धेरै किसानले मकै खेती गरिरहेका छन् । उनले प्रष्ट पारे, ‘विगतमा बाँझो खेत राख्ने किसान मकै खेतीबाट राम्रो आम्दानी गरिहेका छन् ।’