बर्दियाको मधुवन-८ बालविवाह मुक्त घोषणा
कुसुम्बा बजार (बर्दिया) : बर्दिया जिल्लाको मधुवन नगरपालिकाको वडा नं. ८ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शनिबार वडालाई बालविवाह मुक्त वडा घोषणा गरेका हुन् ।
मधुवन नगरपालिकाको बालविवाह मुक्त अभियान रणनीतिक योजना अनुसार वडामा १५ प्रतिशतभन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान अनुरुप वडा सर्वेक्षणमा १४ प्रतिशत मात्र बालविवाह रहेको वडामा बालविवाह सम्बन्धी रणनीति जारी गरिएको, बाल संरक्षण नीति लागू गरिएको, बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका मापदण्ड पूरा भएकाले वडालाई बालविवाह मुक्त घोषणा गरिएको हो ।मधुवन नगरपालिकालाई नै बालविवाह मुक्त बनाउन पालिकाको समन्वयमा प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणीय विशिष्टता समूह (बी ग्रुप), बाँके युनेस्को क्लब, राधाकृष्ण थारु जनसेवा केन्द्र लगायतका गैरसरकारी संस्थाहरु विगत ३ वर्षदेखि कृयाशील छन् ।
यस अघि बर्दिया जिल्लामा बारबर्दिया नगरपालिकाको वडा नं. २, ५ र ७ का साथै मधुवन नगरपालिकाकोे वडा ४ बालविवाह मुक्त भइसकेका छन् । अबको योजना ठाकुरबाबा नगरपालिकाको वडा नं. ३ र ६ लाई पनि बालविवाह मुक्त घोषणा गर्ने तयारी भइरहेको बी ग्रुपका लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।