स्कुलले विद्यार्थीलाई पोशाक किन्न भारत पठाए जिप्रकाको अतिथि बन्नुपर्ने !

नेपालगन्ज : के तपाईका नानीबाबु पढ्ने विद्यालयले पोशाक किन्न भारतीय बजार पठाउने गरेको छ ? विद्यालयले नै भारतीय व्यवसायीको कार्ड थमाएर किन्न पठाउँछ भने होसियार, तपाई विद्यालय सञ्चालक जिल्ला प्रहरी कार्यालयको अतिथि बन्नु पर्ला है ।
नेपालगन्ज उद्योग वाणिज्य संघले आइतबार नेपालगन्जमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले विद्यालयले नै भारत पठाउने कार्यलाई अपराधको संज्ञा दिँदै यस्तो कार्य गर्ने विद्यालय सञ्चालकालाई कारबाही गर्ने चेतावनी दिएका हुन् । ‘बच्चालाई भारतमा पोशाक किन्न पठाएको भेटिएमा सिधै जिप्रकाको अतिथि बन्नुपर्ने हुन्छ । यो गम्भीर अपराध हो’, उनले भने, ‘सस्तो परोस् भनेर हो कि ? सञ्चालकलाई लाभका लागि हो । अभिभावकलाई सस्तो पार्न हो भने विद्यालयको शुल्क नै घटाउनुस् नै । यदि नाफा कमाउने उद्देश्यले मात्र हो भने ढिलो चाँडोे तपाईसँग हाम्रो भेट हुनेछ । तपाई जिप्रकाको अतिथि बन्नुपर्नेछ ।’

उनले राष्ट्रियता सस्तो र महंंगो भन्ने नहुने तर्क गरे । उनको सुझाव छ, ‘बाँके जिल्ला भरीका सबै निजी विद्यालयको एउटै पोशाक बनाउने यहाँहरुको सहमति हुन्छ भने बनाऔं । बाँकेबाट सुरुवात गरौं न ?’

कार्यक्रममा संघका अध्यक्ष टंकबहादुर धामी, निवर्तमान अध्यक्ष तथा नेपाल उद्योेग वाणिज्य महासंघका सदस्य अब्दुल वाहिद मन्सुरी, उपाध्यक्ष मन्दिरा पाण्डे, पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, गार्मेन्ट व्यवसायी, विद्यार्थी नेताहरुले कमिसनका लागि विद्यालय सञ्चालकले विद्यार्थीको पोशाक, कापी, कलम भारतबाट ल्याउन लगाउने गरेको आरोप लगाए । कार्यक्रममा गार्मेन्ट व्यवसायीहरुले त नेपालमै भारत भन्दा गुणस्तरीय नेपाली कपडा सस्तो दरमा पोशाक बनाएर उपलब्ध गराउन सकिने धारणा राखेका थिए । कार्यक्रममा बोल्ने विद्यालय सञ्चालकहरुले भने भने भारतमा किन्न नपठाउने गरेको जिकिर गरेका थिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जिल्लामै पहिलो पटक स्वदेशमै गुणस्तरीय पोशाक बनाउनेबारे छलफल कार्यक्रम आयोजना गर्ेको भन्दै नेपालगन्ज उद्योग वाणिज्य सघको प्रशंशा गरेका थिए । संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एक दर्जन भन्दा बढी सरोकारवालाहरुले जिज्ञासा राखेका थिए ।