नेपालगन्जमा सफाइकर्मीको मर्यादा र सुरक्षामा बेवास्ता
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले सञ्चालन गरेको सेनेटरी ल्याण्डफिल साइटमा कार्यरत सरसफाइकर्मी माया तामाङलाई पेशागत आधारमै अपशब्द प्रयोग गरेर होच्चाएर बोलाउने गरेको धेरै पटक अनुभूति भएको छ । ती ब्यक्तिसँगको उनको प्रतिप्रश्न छ, ‘सरसफाइ पनि काम नै हो । किन फरक व्यवहार हुन्छ ?’ तामाङकै जस्तै व्यवहार माया वाल्मिकी र मालती वाल्मिकीले पनि भोगेको बताउँछिन् । यी तीन जना सरसफाइकर्मीलाई मात्र होइन नेपालगन्ज उपमहानगरपालिकामा सरसफाइ व्यवस्थापनमा कार्यरत ६ सय भन्दा बढि व्यक्तिमध्ये १६२ जनामा गरिएको सर्भेक्षणमा उनीहरुको सुरक्षा र मर्यादाको विषय गम्भीर रहेको एक अध्ययनले देखाएको छ ।
‘एशिया प्रशान्त क्षेत्रमा सरसफाइमा सबैको पहुँच अभिबृद्धि’ कार्यक्रम अन्तर्गत एशियाली विकास बैंक (एडिबी)ले गरेको अध्ययनको बिहीबार बाँकेका पत्रकारबीच सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै बैंकका परामर्शदाता समाजशास्त्री दीपकराज पाण्डेले यस्तो खुलासा गरेका हुन् । उनले सरसफाइकर्मीहरुको सुरक्षाका लागि गम्भीर कदम उठाउनुपर्ने बताए । ‘नगरको सरसफाइमा लाग्ने कर्मचारीहरूलाई सामाजिक रुपमा हेर्ने दृष्टिकोणमा पनि विभेद छ’, उनले भने ।
परियोजना अन्तर्गत कामदारहरुको अवस्था सुधार गर्नका लागि विभिन्न पहलहरु बढाइएको जानकारी आयोजकहरुले दिएका छन् । यस क्रममा कामदार मैत्री प्रविधिको विकासका लागि नविनतम सोच भएका कम्पनीहरुको छनौट गरिएको र सफाइकर्मीको काममा सहयोगी हुने यन्त्रहरुको विकासमा चारवटा कम्पनी छनौट भई कार्य गरिरहेको परियोजनाका सामाजिक इन्जिनियर डा. शंकर ढकालले जानकारी दिए ।
सफाइकर्मीहरुको अवस्था र सामाजिक सोचमा व्यापक सुधारको आवश्यकतालाई मध्यनजर गरी आयोजनाले एकीकृत विकास समाज नेपाल र नेपाल वातावरण पत्रकार समूह मार्फत ब्यवहार परिवर्तन सम्बन्धी सचेतना अभियान सुरु गरेको छ । यस क्रममा विभिन्न प्रचारात्मक कार्यहरूमार्फत सरसफाइकर्मीहरूको आवश्यकता र उनीहरूप्रतिको सामाजिक दृष्टिकोणलाई सकारात्मक मोड दिन पहल अघि बढाइने परियोजना टिम लिडर निमेष रेग्मी बताउँछन् । नेपालका दुई नगरहरु भरतपुर र नेपालगञ्जमा नमूनाको रुपमा अघि बढाइएको परियोजनाले दुवै नगरहरुलाई सरसफाइ व्यवस्थापनमा सघाउने लक्ष्य लिइएको छ ।