त्रिवि रजिस्ट्रार दाहालद्वारा नेपालगन्ज नर्सिङ क्याम्पसको भवन उद्घाटन

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. पेशल दाहालले नेपालगन्ज नर्सिङ क्याम्पसको नवनिर्मित ६ कोठे भवनको उद्घाटन गरेका छन् । रजिस्ट्रार दाहालले शनिबार नेपालगन्जमा क्याम्पसको शैक्षिक भवनको उद्घाटन गरेका हुन् ।

क्याम्पसको नयाँ भवनमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको स्नातक तहका कोर्षहरु चार वर्षे बीएस्सी नर्सिङ र तीन वर्षे बीएनएसका छात्राहरुले अध्ययन गर्नेछन् । क्याम्पसमा बीएस्सी नर्सिङ र बीएनएसमा ३०-३० जना विद्यार्थीको कोटा रहेको छ । जहाँ चार वर्षमा बीएस्सी नर्सिङमा एक सय २० जना र तीन वर्षमा बीएनएसमा ९० जना विद्यार्थी पढ्छन् । क्याम्पसमा अधिकांश पूराना भवन छन् ।

त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. पेशल दाहाल नेपालगन्ज नर्सिङ क्याम्पसको उद्घाटन गर्दै

रजिष्ट्रार दाहालले नयाँ भवनबाट छात्राहरुलाई शिक्षण सिकाइ कार्य सहज र प्रभावकारी हुने उनले बताए । उनले भने, ‘त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका शिक्षालयमा धेरै भौतिक पूर्वाधार पूराना भए पनि नयाँ निर्माण गर्न बाँकी छन् । हरेक वर्ष भौतिक पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिरहेका छौं ।’ २०७७ चैत्रमा आफैले शिलन्यास गरेर भवन उद्घाटन पनि दाहालले नै गरेका हुन् । ६ कोठे दुई तले भवन रजना निर्माण सेवा जुम्लाले ९९ लाख ८२ हजार ७ सय ५० रुपैयाँको लागतमा निर्माण गरेको हो ।

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्रा.डा. दिव्यासिंह शाहले नेपालगन्ज नर्सिङ क्याम्पस संस्थानको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक मात्र आंगिक क्याम्पस भएको बताइन् । उनले क्याम्पसमा अझैं पनि भौतिक पूर्वाधार निर्माण गर्न आवश्यक रहेको स्वीकारिन् । ‘त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका आंगिक क्याम्पसका भवनहरु पूराना र जीर्ण अवस्थाका छन् । हामी सबै क्याम्पसमा भौतिक पूर्वाधार निर्माण गर्न पहल गरिरहेका छौं’, उनले प्रष्ट पारिन्, ‘त्रिभुवन विश्वविद्यालय विश्वका ठूला विश्वविद्यालयमा पर्छ । यसका धेरै आंगिक क्याम्पस छन् । त्रिविसँग भवन निर्माण गर्न पर्याप्त बजेट हुँदैन । पञ्चवर्षीय र दश वर्षीय योजना बनाउँदै पूर्वाधार निर्माणको कामलाई सम्पन्न गर्ने लक्ष्य लिनुपर्छ ।’
नेपालगन्ज नर्सिङ क्याम्पसका प्रमुख तुलसा सुनारको अध्यक्षतामा सम्पन्न भवन उद्घाटन समारोहमा चिकित्सा शास्त्र अध्ययन संस्थानका सहायक डीन प्रा.डा. अभिमन्यु झा तथा रजिस्ट्रार कार्यालय प्रमुख नविन्द्रप्रसाद भण्डारी र चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रशासन प्रमुख कृष्णहरि आचार्यको उपस्थिति रहेको थियो ।