बालिका बलात्कार गरी हत्या गर्ने भारतीय पक्राउ


अन्जना धिताल । नेपालगन्ज

बाँकेको डुडुवा गाउँपालिकाकी १४ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गर्ने भारतीय युवा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार भारत उत्तर प्रदेशको बहराइच थाना रुपैडिया तहशील नानपारा ग्राम बाबागन्ज बस्ने ३० वर्षका ट्याक्टर चालक महेश चौहानले १४ कार्तिकमा डुडुवा गाउँपालिका १ की बालिकालाई सुरुमा बलात्कार गर्र्दा बेहोस भएपछि हत्या गरेर खेतमा पुगेका हुन् । स्थानीय रामकुमार बाहुनको खेत जोत्ने क्रममा खेतमा गाडिएको अवस्थामा बालिकाको शव फेला परेको सूचना पनि अभियुक्त चौैहानले नै दिएका थिए।
प्रहरी टोली घटनास्थलमा पुग्दा शवको एउटा खुट्टा मात्र देखिएको र बाँकी शरीर माटो झारले पुरिएको थियो । शव भन्दा लगभग ३० मिटर परको खाल्डोमा बालिकाको तल्लो बस्त्र भेटिएको थियो । ट्याक्टरले जोतिँदा मृतक बालिकाको शरीरको ठाउँठाउमाँ घाउ लागेको थियो। घटनास्थलबाटै प्रहरीले ट्याक्टर चालक महेश चौहानलाई शंका लागि नियन्त्रणमा लगेका थिए ।
बलात्कारपछि बेहोस भएपछि घाँटी च्यापेर हत्या गरेको र खेतमा पुरेको अभियुक्त चौहानले प्रहरी समक्ष स्वीकार गरेको डीएसपी डाँगीले प्रष्ट पारे । भेरी अस्पतालमा गरेको पोष्टमाटम रिपोर्टमा पनि मृतकको नाक मुख थुनेर मारिएको भन्ने छ ।  प्रहरीेले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय बाँकेमा पेश गरेपछि मंसिर ११ गते सोमबार बाँके जिल्ला अदालतको आदेशले अभियुक्त चौहानलाई पुर्पक्षका लागि थुनामा राख्न बाँके कारागारमा पठाएको छ ।