टीकापुरको बस्ती–बस्तीमा प्रहरी गस्ती (फोटो फिचरसहित)

मानबहादुर ठकुल्ला । टीकापुर

‘प्रहरी मेरो साथी’ र ‘मुस्कानसहितको प्रहरी सेवा’ सुन्दा जति सुन्दर छ, के प्रहरी व्यवहार पनि त्यस्तै छ ? कैलालीको टीकापुर नगरपालिका क्षेत्रमा पुग्नेले जनताको घरदैलोमा प्रहरी टोली भेट्दा प्रहरीलाई नागरिकमैत्री बनाएर अपराध नियन्त्रण, दुर्घटना न्यूनिकरण र सामाजिक विकृतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीको सात वर्षअघि (२०७३) सुरु गरेको ‘प्रहरी मेरो साथी’ अभियानले सार्थकता पाउँदै गरेको आभाष हुन्छ ।

टीकापुरका बस्ती बस्तीमा प्रहरीको गस्ती भइरहेको छ । इलाका प्रहरी कार्यालय टीकापुरले जिल्ला प्रहरी कार्यालय कैलालीको निर्देशनमा टीकापुर क्षेत्रका बस्ती–बस्तीमा प्रहरीको गस्ती अभियान सञ्चालन गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) विश्वराज अधिकारीले बताए ।

डीएसपी अधिकारी सीमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्नका लागि र स्थानीय बस्तीमा हुने अपराधिक कृयाकलापलाई नियन्त्रण गरि समाजमा शान्ति सुरक्षा कायम राख्नका लागि बस्ती बस्तीमा प्रहरीको गस्ती परिचालन गरिएको बताउँछन् ।

डीएसपी अधिकारीका अनुसार बस्तीमा प्रहरी देखेपछि समाजमा अपराधिक कृयाकलापमा संग्लग्न ब्यक्ति पनि सचेत हुने र स्थानीय स्तरमा विभिन्न समस्यामा परेर प्रहरीसम्म पुग्न नसकेका ब्यक्तिहरुले आफ्ना समस्या पनि राख्नसक्ने भन्ने उद्देश्यका साथ बस्तीमा प्रहरी परिचालन गरिएको हो। बस्तीमा प्रहरीको गस्ती कार्यलाई नियमित रुपमा अगाडि बढाइने उनले प्रतिबद्धता जनाएका छन् ।